आर्थिक अनियमितता र आचरणसम्वन्धी कसुरमा पाँच सैनिकमाथि कारवाही

,   १० जेष्ठ २०७७, शनिबार, ०८:५२ am   
Nepal_army

काठमाडौं । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतको गत मंगलबारको निर्णयअनुसार श्री सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा उनीहरुउपर सैनिक ऐन २०६३ बमोजिम कारबाहीको फैसला भएको हो । सो प्रकरणमा मुछिएका अन्य १३ जनाले भने सफाइ पाएका छन् ।

जसअनुसार महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको छ ।

उनीउपर गैरकानुनी रूपमा आर्थिक उपार्जन गरेको भन्दै १ करोड ८५ लाख ४० हजार १ सय आठ रुपियाँ ११ पैसा बिगो रकम असुल गर्न आदेश भएको छ । यसैगरी, प्रमुख सेनानी देवबहादुर क्षत्रीले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले सैनिक ऐनअनुसार दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट ४ लाख ४० हजार रुपियाँ असुल गर्न आदेश भएको छ ।

aecc

यस्तै, हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र निजबाट ३ लाख ६० हजार असुल उपर गर्न आदेश भएको छ ।

यसैगरी, हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष तलब वृद्धि ९ग्रेड० रोक्का गर्ने र निजले हिनामिना गरेको देखिन आएको १० हजार रुपियाँ असुलउपर गर्ने निर्णय भएको छ ।

यस्तै, लेखातर्फका आ। सहसेनानी सुरेन्द्रविक्रम भण्डारीले कानुनी प्रक्रिया अवलम्बन नगराई सैनिक ऐनविपरीत काम गरेको ठहरिएकाले नसिहत दिने तथा सोही मुद्दामा अन्य १३ जनाले अभियोग मागदाबीबाट सफाइ पाउने गरी ठहर फैसला भएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित श्री सैनिक आवासीय महविद्यालय भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएको थियो ।

राजधानी दैनिकबाट ।