कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम

Advertisement

काठमाडौँ । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस पनि यही बीचमा प्रदर्शन भइरहेको छ । बन्दाबन्दीको समय आफैँमा कष्टकर भएपनि अन्य उपाय छैन सरकार र नागरिकका सामु । यही बीचमा केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधिन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने स्म्बन्धमा स्पष्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको छ ।

आगामी असार भित्रै देशको सबैभन्दा ठुलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ । माथिल्लो तामाकोशीको काम पनि गतिमा नै छ । यसले विपदमा पनि सामाजिक दुरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रमा भए गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दर भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ । सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पुर्याएको छ ।

ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लकडाउन)का बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ । दाना र कुश्मास्थित खुर्कोटमा २२०÷१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ ।

दाना—कुश्मा खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ । हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।

कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तिब्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ । सो प्रसारण लाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ । प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ । त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

Advertisement

Advertisement

Advertisement