'लकडाउन'को दुई महिना पुग्दा कोरोना संक्रमण तीब्र, अधिकांश संक्रमित भारतबाट आएका

Advertisement

काठमाडौं । भारतसँग नेपालको खुला सिमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो । किनकि हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् । सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ ।

आइतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको दुई महिना पुगेको छ । दुई महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र तीन सय ४१ जनामा संक्रमण देखिएको छ । त्यसअघि संक्रमितको संख्या दुई सय ४३ मात्र थियो । नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरू हुन् । लकडाउन प्रभावकारी भए पनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ ।

भारतबाट २० हजार भित्रिए

चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वयन गरियो । समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन, तर खुला सिमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।

सीमा बन्द भएयता भारतबाट करिब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षणसमेत नगरी घर जान दिइएको छ । लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन । उनीहरूबाट संक्रमण फैलने जोखिम छ । भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउनेलगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement