विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी गर्ने बेला आयो

,   ११ जेष्ठ २०७७, आईतवार, १०:४७ am   
yubraj_sangraula

एउटा भनाई छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ । जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तर्रास्ट्रिय साख गुमाउँछ । अहिले हाम्रो अवस्था यस्तै हो । जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भएपूर्ण हुन्छ । हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने दुइसय बर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ। अब अण्डाले ढुङ्गा हान्ने होइन फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ।

१) सन १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो । हामीले जमिन गुमायौं । त्यसपछि हाम्रा नागरिकहरुलार्इ उपनिबेशी शासकले दास झैँ उसको सेनामा प्रयोग परम्परा थोपर्यो । राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो। बृटिस उपनिबेशिले नेपालको राजनीतिलाई फोहोर बनाइदियो। तर हाम्रा नेता र कर्मचारी बेलायत सङ्ग दुइसय बर्षको इतिहास छ भन्छ्न। अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनीतिको साँघु भन्ने गर्छन । अपमानित भएको भान पनि छैन । सन् १९४७ मा भारत स्वतन्त्र भयो । तर, उस्ले गर्ने व्यवहार उपनिबेशको भन्दा फरक थिएन । विपीलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रिका कोइराला दिल्ली पुगेको इतिहास हामीसँग छ । स्वाभिमान हामीले बेच्यौं । क्युबामाथि अमेरिकाले के के अत्याचार गरेन ? तर क्युबालीले सिर पनि झुकाएनन, स्वाभिमान पनि बेचनन् । उनीहरुले आफूलाइ उन्नत बनाए। शिक्षालाई आधुनिक बनाए । विज्ञानलाई उन्नत बनाए । नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए। क्युबालाई अमरिकाले दमन गर्न सकेन । क्युवाको जस्तो कठिन अवस्था हाम्रो होइन। तर हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए।

२) नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन अहिले पनि कुद्छन। उसँग ५० तर्क छ्न आफ्नो गलत काम पुष्टि गर्ने । तर, आफ्नो खेत र बारीमा उन्नत खेति गर्ने सीप सिक्ने जाँगर छैन। लाहुरे संस्कृति राष्ट्रको अपमानका रुपमा हुर्केको छ । जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुश गर्न सकिन्न, अरुले हेप्छन । तेसैले भारतले हाम्रो भूमिमा आफू खुस गर्छ ।

aecc

३) देशका वकिल विदेशीको गुलामी गर्छन, बिदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छ्न् । उनीहरु बिदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग गर्छन । देशका पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छ्न् । त्यस्ताका पछाडि नेता लाग्छ्न् । देशका इन्जिनियर सीमानामा पिलर राख्दा आफ्नो भूमि त्याग्न तयार छ्न् । देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छ्न् । देशका नेता आफू मन्त्री हुन विदेशिका पाउमा शिर राख्न तयार छ्न् । देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छ्न। यी सबै अपमानित इतिहास र रास्ट्रका मानिसका प्रवृत्ति हुन् । राष्ट्र कमजोर भएपछि यस्तै हुन्छ।

३) हिटलरले आक्रमण गर्दा रसियामा ५० लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए । चीनमा आफ्नो स्वतन्त्रता लागि कतिले ज्यान दिए सबैलाई थाह छ। किनकी उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो । हामीलाई राष्ट्रको अपमान पीडा हुँदैन । हामीलाई पीडा डिभी नपर्दा, बिदेशी सेनामा भर्ती हुन नपाउँदा र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ । हामीलाई बिदेशीको चाकरी औधी मन पर्छ।

४) हाम्रोमा केही मानिसलाई सधै प्रधानमन्त्री हुने धोको रहन्छ । कसैलाइ त एक दर्जन पट्क प्रधानमन्त्री हुन मन छ । मसँग प्रधानमन्त्री हुने के क्षमता छ ? भन्ने सोच्न उनीहरु तयार छैनन । हाम्रा नेता जनताका संरक्षक हुन चाहदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छ्न। उनीहरुलाइ आफ्नो विचारको माया लाग्दैन । उनीहरुलाइ घुस दिने माफियाको बढी माया लाग्छ । राष्ट्रघातीहरुप्रती रिस उठ्दैन उनीहरुलाई । बरु देशलाई माया गर्नेप्रति रिस उठ्छ । लुट्नेहरु आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छ्न । केही मानिस राजनीतिका नाममा छ्लपट मात्र गर्छन् ।

५) देशका कानुन विदेशीका लागि बन्छन । सन्धि र सम्झौता विदेशीकै लागि बन्छ्न । हाम्रो दराजका कागजपत्र विदेशीले निकालेर लैजान्छन । देशको नक्सा फेरिन्छ। विदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन, राष्ट्रको रक्षाका लागि होइन । विदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छ्न।

त्यसैले विदेशीले हामीलाई अपमान गरिरहन्छ्न् । उनीहरु हामीलाई राष्ट्र नै मान्दैनन। त्यसैले हेप्ने आँट गर्छन । हाम्रो आफ्नै चिज हामीसँग छैन। हाम्रा कागज ब्रिटिस म्युजियममा छ्न । हामीसँग हाम्रै सन्धी छैनन् । हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ । हामीसँग तर्क होइन गाली गलौज छ । देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ । दोग्ला मानिस बिज्ञ बनाइएका छ्न।

हामिले अब राष्टको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको विकल्प छैन।

१) हाम्रो साम्राज्यवाद विरोधी इतिहासलाई हरेक व्यक्तिमा पुर्याउनु आवश्यक छ, अब । हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ । २०० बर्ष अगाडी हामीले उपनिबेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नु पर्ने भएको छ ।

२) हाम्रा सीमाना बेच्ने, हाम्रा नक्सा बद्ल्ने, देशघाती सम्झौता गर्ने र विदेशी एजेन्सीका लागि काम गर्ने भिखारीहरुको नकाब खोल्नुपर्छ अब ।

३) हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नुपर्छ।

४) विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवश्यक छ ।

हामीले हाम्रो स्वाभिमानका लागि भारतसँग कुरा गर्ने हिम्मत गर्नुपर्छ । अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ। अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको बिकप्ल छैन् । हिजो पनि देश विदेशीको कठ्पुतली थियो। आज पनि कठ्पुतली छ । अब देश कठ्पुतली हुनुहुँदैन।