काठमाडौँ उपत्यकासहित विभिन्न पाँच स्थानमा भएका घटनामा सात जनाको मृत्यु

Advertisement

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका विभिन्न घटनामा परी पाँच जनाको मृत्यु भएको छ । यसैक्रममा काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोली लागेको अवस्थामा प्रहरी मृत फेला
यता, काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन् । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनको कच्चटमा गोली लागेको पाइएको छ ।

उनका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो । ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए । कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

करेन्टबाट मृत्यु र घाइते
यसैगरी कैलालीमा करेन्ट लागेर युवकको ज्यान गएको छ । घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए । इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आज बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ ।

चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर मृत्यु
त्यसैगरी म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेण्ट लागेर मृत्यु भएको छ । भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो ।

रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो । शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

कुटपिटबाट दुईको मृत्यु
सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो ।

डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा मेहता परिवार र मण्डल परिवारबीच भएको विवाद र झडपमा घाइते सुखदेव मण्डलको मृत्यु भएको बताए । पीडित परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कुटपिट गरेको आरोप लगाएका छन् । मुकेशले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै रोक्न गएपछि शुरु भएको विवादले उग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । कुटपिटबाट सुखदेव मण्डलको मृत्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आरोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायाब उपरीक्षक तिलक भारतीले बताए ।

Advertisement

Advertisement

Advertisement