सांसदको प्रतीक चिह्न नेपालको नक्शानुसार परिमार्जन गरिने

Advertisement

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आउनुुभएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने
यता, राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति तय गर्नुभएको हो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले एक सार्वजनिक सूचनामार्फत उक्त कुराको जानकारी दिनुभयो । सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो ।

मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको थियो ।

यस्तै, नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा सङ्घीय संसद्को लोगो (प्रतीक) र राष्ट्रियसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र सङ्घीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement