भारतले रेल चलाएपछि सीमा क्षेत्रमा नेपाल फर्किने प्रवासी नेपालीहरुको ठूलठूलो भीड सुरु

Advertisement

सीमा क्षेत्र । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने ।

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए । प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

बाँकेमा स्वास्थ्य परीक्षण समेत नगरी भित्र्याइँदै
नेपालगन्ज नाका हुँदै भारतबाट फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी सम्बन्धित जिल्ला पठाउन थालिएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ । यसअघि भारतबाट आउने नेपालीको तापक्रम नापेर मात्रै नेपाल भित्र्याउने गरिएको थियो ।

‘सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर नाकामा रहेका नेपालीलाई सवारीसाधनमार्फत सम्बन्धित जिल्लामा पठाउने गरिएको छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । आइतबार मात्रै नेपालगन्ज नाकाबाट ७० वटा गाडीमा नेपाली भित्रिएका छन् । सीमा क्षेत्रको भारतीय बजार रुपइडिहामा रहेका उनीहरूलाई नेपालगन्जबाट गएका बस, हाइस र किया गाडीबाट सम्बन्धित जिल्ला पठाइएको जमुनहा प्रहरीले जनाएको छ । साँझसम्म करिब दुई हजार पाँच सय नेपाली स्वदेश भित्रिएका छन् ।

एक साताअघि स्वदेश ल्याइएका नेपालीको आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । तर, अहिले शरीरको तापक्रमसमेत जाँच नभएको नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी दुर्गा महत पाण्डेले बताइन् ।

भारतले रेलसेवा सञ्चालन गरेपछि स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । नेपालगन्ज नाकाबाट दैनिक करिब दुई हजारका दरले भित्रिने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement