कोरोनाको कारण मृत्यु भएको ९ दिनपछि तथ्य सार्वजनिक, नेसनल मेडिकलको लापर्वाही

Advertisement

पर्सा । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले कोरोना मृतकको स्वाब परीक्षणको रिपोर्ट नआउँदैआफन्तलाई शव बुझाएर गम्भीर लापर्वाही गरेको पाइएको छ । अस्पतालले आफन्तलाई शव बुझाएको नौ दिनपछि मृतकको रिपोर्ट पोजेटिभ आएपछि लापर्वाही खुलेको हो ।

शब बुझाएसँगै मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले हतार हतार अर्कै कारण देखाउँदै आइसीयू विभाग बन्द गरेको थियो । आइसीयु विभाग फ्युमिगेशन गर्न भन्दै जेठ ९ गते सुचना निकालेर तीन दिनका लागि बन्द गरिएको जानकारी दिइएको थियो । परिवारलाई बुझाइएका मृतकको शब दाहसंस्कार गरिसकिएको छ ।

बाराको करैयामाई ७ का ७० वर्षीय चौधरी गत जेठ २ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएकी दिन उनको स्वाब संकलन गरी परीक्षण गर्न लगिएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले रिपोर्ट नकुरी परिवारलाई शब बुझाएको थियो । जेठ ४ गते आएको रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनीसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले मृतकको शव आफन्तलाई जिम्मा लगाइसकेपछि जेठ ६ गते रिपोर्टबारे मौखिक जानकारी आएको मिडियाहरुसँग स्वीकार गरेका छन् ।

मृतकको जेठ ४ र ५ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपनि जेठ ६ गते पुनःपरीक्षणका लागि काठमाडौंको टेकु पठाइएको थियो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । सरकारी निकायको अनुगमनको अभाव र अस्पतालको लापर्वाहीमा कोरोनाका कारण मृत्यु भएको तथ्य यति लामो समयसम्म बाहिर ल्याइएको थिएन् । स्थानीय प्रशासनले यस विषयमा सोधखोज भइरहेको र अस्पताल दोषी भेटिए कारवाही गर्ने बताएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस घटनाका विषयमा सम्वन्धित पक्षहरुसँग सोध्ने काम भइरहेको र दोषीलाई कारवाही हुने बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement