रोजगारदाता र कामदारलाई सरकारको बम्पर उपहार, सामाजिक सुरक्षा कोषको रकम तिरिदिने

Advertisement

काठमाडौं । सरकारले लकडाउन अवधी भरको समाजिक सुरक्षा कोषको रकम आफैं तिरिदिने भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषको योगदान रकम सरकारले नै तिरिदिने घोषणा गरेका हुन् ।

यस अघि पनि सरकारले चैत महिनाको सामाजिक सुरक्षा कोषको रकम आफैं तिरिदिएको थियो । ओलीको घोषणासँगै अब बैशाख र जेष्ठ महिनाको रकम पनि सरकारले नै तिरिदिने भएको हो । 'सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ ।', प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन मार्फत घोषणा गरेका छन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीका अनुसार हाल ४१ हजारभन्दा बढी कामदारले सामजिक सुरक्षा कोषमा रकम जम्मा गरिरहेका छन् । कामदारका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम कोषमा जम्मा हुने व्यवस्था रहेको छ ।

हालसम्म कोषमा एक लाख ५९ हजार श्रमिक दर्ता भएका छन् भने ४१ हजार भन्दा बढीले योगदान रकम जम्मा गरिरहेका छन् । कोषमा हालसम्म एक अर्ब ५ करोड रुपैयाँ भन्दा बढी जम्मा भैसकेको छ ।

Advertisement

Advertisement

Advertisement