कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्रीको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले लिएका कदमहरु सफल भएको दावी गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै सोमबार ओलीले भने, 'यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएता पनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सफल भएका छन् ।' कोरोना संक्रमण तीब्र भएसँगै प्रमुख प्रतिपक्ष दल काँग्रेसले कोरोना नियन्त्रण गर्न सरकार असफल भएको बताइरहेको बेला ओलीले भने आफू सफल भएको दावी गरेका हुन् ।

उनले लकडाउनले जीवनलाई असहज बनाए पनि यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पुर्‍याएको तर्क गरे । समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा सञ्चालन कार्यविधिको तर्जुमा र कार्यान्वयन लगायतका कदमहरुले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको ओलीको तर्क छ ।

यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्छ भन्दै उनले दक्षिण एसियाका कतिपय मुलुकहरुको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी रहेको बताए ।

यद्यपि ढुक्क भएर बस्ने स्थितिमा भने नरहेको ओलीको भनाई छ । कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत रहेको उनको भनाई छ । आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षण २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको भन्दै परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरी यसलाई यथाशीघ्र अझै उन्नत बनाइने बताए । विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको बताए ।

Advertisement

Advertisement

Advertisement