वागमती प्रदेशमा भ्रष्टाचार मौलायो, १२ करोडको सामान खरीद बिना टेण्डर

Advertisement

काठमाडौं । मुख्यमन्त्री कार्यालयसहित बागमती प्रदेशका सबै मन्त्रालयले बोलपत्र आह्वानविनै करिब १२ करोडका सवारीसाधन र अन्य सामग्री खरिद गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले त्यसमाथि प्रश्न उठाएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

महालेखाको आर्थिक वर्ष ०७४।७५ को वार्षिक प्रतिवेदनमा प्रदेश सरकारसँगै प्रदेश सभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले पनि बोलपत्र आह्वानविनै सामग्री खरिद गरेको उल्लेख छ । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकले त्यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।

समिति सभापति न्हुच्छेनारायण श्रेष्ठका अनुसार मन्त्रालयहरूले सवारीसाधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन र फर्निचर बोलपत्र आह्वानविनै खरिद गरेका छन् । ‘करिब १२ करोड रकम बराबरका सामग्री बोलपत्र आह्वानविनै खरिद गरिएका रहेछन्, लेखा समितिले त्यसबारे छानबिन गर्न उपसमिति गठन गरिसकेको छ ।’

सभापति श्रेष्ठका अनुसार कांग्रेस सांसद प्रभात तामाङको संयोजकत्वमा नेकपाकी मुनु सिग्देल, ओम ग्लान, विवेकशील नेपाली दलका रमेश पौड्याल र राप्रपाकी रीता माझी सदस्य रहेको पाँच सदस्यीय छानबिन उपसमिति गठन गरिएको छ । उपसमितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको छ । यो समितिले पुँजीगत खर्चमा देखिएको बेरुजुबारे पनि अध्ययन गर्नेछ ।

मन्त्रालयहरूले भने प्रदेश सरकार भर्खर गठन भएको र तुरुन्तै काम गर्नुपर्ने भएकाले समय अभावका कारण बोलपत्र आह्वान नगरिएको लिखित जवाफ लेखा समितिलाई दिएर पन्छिन खोजेका छन् । तर, समिति सभापति श्रेष्ठले भने सार्वजनिक खरिद ऐन मिचेर सामग्री खरिद गरिनु गलत भएको बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement