हरेक नागरिकको शिरमा ३९ हजार ऋणको बोझ

Advertisement

काठमाडौँ । हरेक नागरिकको शिरमा ३९ हजार रुपियाँ ऋणको बोझ पुगेको छ । अर्थमन्त्री युवराज खतिवडाद्धारा मंगलबार संसदमा प्रस्तुत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपियाँ पुगेको छ । यसलाई हरेक नागरिकमा भाग लगाउँदा प्रतिव्यक्ति ३९ हजार ३३ रुपियाँ हुन्छ ।

गत फागुनसम्ममा यस्तो ऋण नौ खर्ब ७८ अर्ब ाअर्थात ३६ हजार रुपियाँ रहेकोमा अहिले बढेर ११ खर्ब ३९ अर्ब रुपियाँ पुगेको हो । नेपालको जनसंख्या दुई करोड ९२ लाख रहेको छ । वैदेशिक सहायतामा अनुदानको हिस्सा घटेर ऋणको हिस्सा बढेसँगै मुलुकको दायित्व पनि बढेर गएको हो । आर्थिक सर्वेक्षणअनुसार आन्तरिक र बाह्य ऋणको अनुपात ३८.६ प्रतिशत र ६१.४ प्रतिशत रहेको छ ।

त्यस्तै, प्रतिव्यक्ति आय बढेर एक लाख २६ हजार (एक हजार ८५ अमेरिकी डलर) पुगेको आर्थिक सर्वेक्षणमा देखाइएको छ । प्रतिव्यक्ति आय कुल ग्राहस्थ उत्पादन प्रचलित मुल्यमा गत वर्षको तुलनामा ७.५ प्रतिशतले वृद्धि हुने जनाइएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण आर्थिक वृद्धिदर खुम्चिएर २.३ प्रतिशत हुने अनुमान गरिएको छ । कोरोनाको असर र लकडाउन लम्बिएमा यस्तो वृद्धिदर ऋणात्मक पनि हुनसक्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement