जेठ २० मा लकडाउन खुले सुनचाँदीको कारोबार सुचारु गर्छौं: शाक्य

Advertisement

काठमाडौं । ‘लकडाउन’सँगै सुनचाँदीको कारोबार ठप्प हुँदा सुनचाँदी व्यवसायीदखि कालिगढहरुसम्म समस्यामा परेका छन् । उनीहरुले लकडाउनका कारण व्यवसायीहरुलाई ठूलो नोक्सान भएको भन्दै त्यसमा सरकारले बजेटमार्फत उचित सम्बोधन गर्ने अपेक्षा पनि गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले आउँदो जेठ २० गतेसम्म लकडाउन घोषणा गरिएकाले त्यसपछि यसलाई खुकुलो बनाइए आफूहरुले कारोबार सुरु गर्ने बताए । कारोबार ठप्प हुँदा यही पेशा व्यवसाय गरेर पेट पाल्दै आएकाहरुलाई ठूलो समस्या भएको भन्दै उनले महामारीबाट जोगिन स्वास्थ्य सावधानी अपनाउँदै उद्योग व्यवसायलाई खुल्ला गर्नुपर्ने बताए ।

शाक्यका अनुसार अहिले सुनको भाउ प्रतितोला ८६ हजार रुपियाँ पुगेको छ । केही दिनअघि ८८ हजार नाघेकोमा अहिले अहिले केही कमी आएको हो । विश्व बजारमै सुनको भाउ घट्ने क्रम रहेको शाक्यले बताए । त्यस्तै, चाँदीको भाउ प्रतितोला नौ सय पुगेको उनले जानकारी दिए ।

यता सुनचाँदी रत्न तथा आभुषण महासंघले भने लामो समयदेखि मूल्य समायोजन नहुँदा ग्राहकमा अन्यौलता सिर्जना भएको भन्दै सुनचाँदीको मूल्य तोकेको जनाएको छ । जेठ १२ गतेको महासंघको बैठकअनुसार आज बुधबारबाट अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन सुरु गरिएको जानकारी दिएको छ ।

उसले तोकको भाउअनुसार छापावाल सुन प्रति १० ग्राम ७३ हजार आठ सय छ भने चाँदीको मूल्य ७६३ कायम गरिएको छ ।

त्यसैगरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाममा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र पाँच हजार थान माक्स वितरण गरेको जनाएको छ । ईलामका सीडीओ तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठलाई महासंघको प्रदेश नं. १ का संयोजक विशन शाक्य, कोषाध्यक्ष रुद्रबहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्तरूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

उक्त पीपीई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने सीडीओ सेडाईले जनाएका छन् । त्यस्तै, संयोजक शाक्यले यस अगाडि पनि धरानस्थित विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पीपीई प्रदान गरिएको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement