'बजेटले केही दिने प्रयास गर्यो तर हँसिलो अनुहार बनाउन पाइएन'

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बजेटले केही दिने प्रयास गरेको भएपनि हँसिलो अनुहार बनाउन भने नपाईएको बताएका छन् ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण सकेलगत्तै कर्पाेरेट नेपालसँगको कुराकानीमा मुरारकाले भने–‘बजेटले केही दिने प्रयास गरेको छ तर हामी उद्योगी व्यवसायीले हँसिलो मुहार बनाउने अवस्था भने रहेन् ।’

बजेटले कोरोना प्रभावित अर्थतन्त्रलाई बचाउने उपायका रुपमा पुनरकर्जालाई मात्रै महत्व दिएको पनि उनले बताए । ‘पुनरकर्जा कोष मार्फत घरेलु तथा साना उद्योगीलाई ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, पुनरकर्जाले मात्रै कोरोना प्रभावित अर्थतन्त्रलाई प्राण भर्न मुस्किल हुन्छ ।’, मुरारकाले भने ।

उनले करका नयाँ दरहरु हेरेपछि मात्रै बजेटको एकिन चिरफार गर्न सकिने पनि बताए । ‘करका दरहरुबारे आर्थिक विधेयकमा के लेखिएको छ, त्यो हेर्न बाँकी छ, त्यसलाई नहेरी अहिले नै केहि भनिहाल्ने अवस्था छैन् । तर पनि बजेट वक्तव्य सुनिसकेपछिको निष्कर्ष भनेको हसिलो अनुहार बनाउनुपर्ने खासै कारण देखिएन् ।’, मुरारकाले थपे ।

बजेट वक्तव्यले करका घटेका दरहरु उल्लेख गरेको भएपनि बढेका दरहरु आर्थिक विधेयकमा मात्रै आउने भएकाले त्यसपछि मात्रै बजेटको वास्तविकता उजागर हुने टिप्पणी पनि गरे । धेरै उत्साहका साथ बजेट वक्तव्यको प्रतिक्षामा रहेका उद्योगी व्यवसायीको उत्साहलाई बजेटले कायम राख्न नसकेको निष्कर्ष पनि उनले सुनाए ।

Advertisement

Advertisement

Advertisement