सरकारले संक्रमण पुष्टि गरेका नुवाकोटका युवामा कोरोना भेटिएन, व्यर्थमा त्रसित बनाइयोः गाउँले

Advertisement

काठमाडौं । कोरोना संक्रमित भनिएका नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ का एक युवामा संक्रमण नै नभएको पुष्टि भएको छ । पीसीआर टेष्टमा पोजेटिभ रिपोर्ट आएको भन्दै यही गत जेठ ११ गते आफै मोटरसाइकल चढेर टेकुस्थित सरुवा रोग अस्पताल आएका नवराज ढुँगानाको बुधबार र आज शुक्रबार आएको रिपोर्टहरु दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नै नभई पुष्टि भएको छ । उनलाई अस्पतालले आज डिष्टार्ज गर्ने तयारी गरेको छ ।

ढुँगानाले कर्पोरेट नेपालसँग कुरा गर्दै बिना कारण आफू र आफ्नो परिवारदेखि टोल छिमेकले मानसिक तनाव खेप्नु परेको भन्दै सरकारी परीक्षण विधिप्रति असन्तुष्टि पोखे । उनले भने– प्राविधिक मिस्टेकले हो वा के कारणले हो ? मलाई संक्रमित भनियो । लिनलाई एम्बुलेन्स लिएर आउँदैछु भनेर मलाई चार घण्टा कुराइयो । नआएपछि म आफँ मोटरसाइकलमा आएँ । अहिले दुई पटक टेष्ट गर्दा पनि रिपोर्ट नेगेटिभ छ । कस्लाई दोष दिने ?

उमेरले ३८ बर्षीय ढुँगानाले आफूलाई कोरोनाको कुनै लक्षण पनि नरहेको बताए । उनका एक छिमेकीले कोरोना संक्रमण नै नभएको मानिसलाई संक्रमित भनेर व्यर्थमा तनाव दिएको भन्दै असन्तुष्टि पोखे । उनले ढुँगानालाई कोरोना संक्रमण भेटिएको भनेकाले अन्यलाई पनि संक्रमण भएको हुनसक्ने आशंकामा अघिल्ला दुई दिनमा उनको टोल छिमेक र सम्पर्कमा आएका ८४ जना व्यक्तिको पीसीआर टेष्ट गर्ने काम भएको भन्दै यसले गाउँलाई सास्ती मात्रै नभएर राज्यको पनि नोक्सान भएको बताए । स्वास्थ्य मन्त्रालयले नुवाकोटका पहिलो कोरोना संक्रमित भन्दै उनलाई कोरोना लागेको पुष्टि गरेको थियो ।

Advertisement

Advertisement

Advertisement