बजेटबाट एमसीसीको अनुदान नहटाइए बजेटै फेल गराइदिने चेतावनी, आज आकस्मिक बैठक

,   १७ जेष्ठ २०७७, शनिबार, ०७:३१ am   
cpn_madhav_kp_jhalnath_prachanda

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपियाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ । संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७।७८ को बजेटमा समेटेको हो ।

बजेट किताबको अनुदान तथा ऋण सारांंश अनुसूची १० मा एमसीसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपियाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको छ ।

एमसीसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसीसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

aecc

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पार्टीको निर्णयविनै एमसिसी परियोजना तोकेरै बजेटमा ल्याइएको भन्दै तत्काल बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका थिए । उनीहरूको दबाबपछि बैठकबारे कुरा गर्न प्रचण्डले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

दुई अध्यक्षको छलफलपछि अपर्झट सचिवालय बैठक बोलाइएको वरिष्ठ नेता खनालले बताए । पार्टी निर्णयविनै परियोजनाअन्तर्गत रकमै तोकेर अनुदान सहायता प्राप्त हुने रकम बजेटमा ल्याइनु गम्भीर आपत्तिजनक भएको उनको भनाइ छ ।

गत १९ माघमा सम्पन्न केन्द्रीय कमिटीद्वारा गठित एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले पार्टी निर्णयविना नै त्यसरी ल्याइएको विषय नहटाइए बजेट नै फेल हुने चेतावनी दिए । ‘एमसीसी परियोजनाअन्तर्गत वैदेशिक अनुदान प्राप्त हुने रकम तोकेरै बजेटमा आउनु गम्भीर आपत्तिजनक छ, त्यसकारण हामीले छलफलका लागि अपर्झट केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका हौँ । शनिबार बस्ने बैठकमा छलफल गरेर एउटा टुंगोमा पुग्छौँ,’ खनालले भने, ‘एमसिसी यथास्थितिमै मान्ने, पालन गर्ने वा अनुमोदन गर्ने भन्ने प्रश्नै छैन । नीति तथा कार्यक्रममा भएको पनि प्रधानमन्त्रीले लागू हुँदैन भनेपछि मात्र हामीले मानेका थियौँ, त्यसकारण अब हटाउनुको विकल्प छैन, हटाइएन भने बजेट फेल हुन्छ ।’

नयाँपत्रिका दैनिकबाट ।