'लकडाउन' फेरि लम्ब्याइयो, हवाई उडान अझै चार साता बन्द गर्ने निर्णय

Advertisement

काठमाडौं । कोरोना (कोभिड १९) महामारी रोक्न लागू गरिएको लकडाउनका कारण जनजीवनदेखि अर्थतन्त्र चौपट भएको भन्दै यसलाई खुकुलो पार्न (मोडालिटी परिवर्तन गर्न) चौतर्फी दबाब रहे पनि सरकारले फेरि यसलाई लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना संक्रमण दर बढेको र भारतमा पनि लकडाउन फेरि लम्ब्याइएपछि सरकारले जेठ ३२ गतेसम्मका लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको छ भने आन्तरिक तथा बाह्य उडान आउँदो असार १५ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । यद्यपि सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले थपिएको अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने संकेत गरेका छन् ।

उनका अनुसार कोरोनाको जोखिम कम भएको छैन । यद्यपि जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गरेर जोमिख कम भएका क्षेत्रमा लकडाउन खुकुलो गर्न सकिन्छ । समस्यामा परेका नेपालीहरुलाई उद्दार गर्न हवाई सेवा सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाइने खतिवडाले बताएका छन् ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ । सुरक्षा परीषदको बैठक बसेर बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पनि गरेको हो । परीषदको बैठकमा सीमा सुरक्षाका विषयमा पनि कुराकानी भएको जनाइएको छ । सीमामा कडाई गर्न सशस्त्र र नेपाल प्रहरीलाई थप परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement