रुकुम घट्नाः वडाध्यक्षकै संरक्षणमा नि:शस्त्र युवाहरुमाथि सामुहिक आक्रमण

Advertisement

जाजरकोट, काठमाडौं । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए ।

२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।

जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।

नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ...लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।

गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।

घाइते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६० ७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साए । ‘हामीलाई ढुंगामुढा, हँसिया र चिर्पटले हान्दै भेरीको किनारसम्म पुर्‍याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’

तम्तयार बसेजस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आशंका छ । पीडित परिवारले घटनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरोप लगाएको छ । पीडित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् ।

आक्रमण भएको ठाउँबाट भेरी नदी तलै छ । सोतीका गाउँलेको हूलले भाग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइतेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घटनास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कुटपिट तथा लखेट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भागे र घर आउन सफल भए ।

स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement