प्रदेश नं २ को अवस्था भयावह बन्दै, कोरोना सङ्क्रमित ५५३ पुगे, रौतहटमा मात्रै १८८

Advertisement

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन् ।

यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ । पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन् ।

स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । शनिबार एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा घिमिरेले जानकारी गराए । अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ । यस प्रदेशमा ३७१ वटा क्वारेन्टिनमा २५ हजार ३२२ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर विभिन्न क्वारेन्टिनमा २० हजार ९३३ जना, होम क्वारेन्टिनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन् । आइसोलेसन कक्षमा ७४४ वटा श्ययाको व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement