अटो व्यवसायीको सरकारलाई प्रश्न– यसरी 'लडकाउन' मात्रै थपेर यो मुलुकले कति थेग्छ ?

Advertisement

काठमाडौं । विकल्पै नभएजसरी सरकारले लकडाउन मात्रै थप्दै आएकोप्रति अटो व्यवसायीहरु आक्रोसित देखिएका छन् । नेपाल अटोमोवाइल डिलर्स एशोसियशनको कार्यक्रममा आइतबार उनीहरुले अकडाउन अन्त्य गर्न के जनता बिद्रोहमै उत्रिनुपर्ने हो र ? भन्दै जनताहरु आफै सचेत भइसकेको अवस्थामा सुरक्षा सावधानी अपनाएर काम गर्न सबै तयार रहेको बेला सरकारले लकडाउन थपेर जनजीवन मात्रै होइन् सम्पूर्ण अर्थतन्त्र चौपट बनाउने काम गरेको गुनासो गरे ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले लागू गर्दै आएको लकडाउन यही जेठ २० पछि खुकुलो गर्ने धेरैले अपेक्षा लिएको बेला शनिबार पुनः समय थप गरिएपछि व्यवसायीदेखि सर्वसाधारण आक्रोसित भएका छन् ।

एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलालले लकडाउनले गर्दा मानिसहरुको दैनिकी दिनप्रति दिन कष्टकर बन्दै गएको र उद्योग व्यवसाय चौपट भएको भन्दै तर यस्ता कुरामा सरकार संवेदनशील नभएको बताए । आन्दोलन नै नगरी लकडाउन नखुल्ने अवस्था देखिएको भन्दै उनले व्यवसायीहरु आग्रह मात्रै गर्नसक्ने तर जनता विद्रोहमै उत्रिने अवस्था आइसकेको बताए ।

दुलालले आफूहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु पालना गरेर काम गर्न तयार हुँदाहुँदै सरकारले विकल्परहीत तरिकाले लकडाउन थप्ने काम गरेको भन्दै यसबाट सबैभन्दा बढि मार अटोमोवाइल क्षेत्रलाई भएको बताए ।

एशोसियशनका उपाध्यक्ष करन चौधरीले मानिसहरुले आफै सुरक्षा सावधानी नअपनाएसम्म जतिसुकै लकडाउन थपे पनि अर्थछैन भन्दै सुरुमा केही समय महामारी रोकथामको तयारीका सन्दर्भमा लकडाउन ठिक भए पनि अझै थपिरहनु उचित नभएको बताए ।

एशोसियशनका महासचिव सुनिल रिजालले अरु मुलुकहरुले लकडाउन हटाएर सबै उद्योग व्यवसाय खुल्ला गरिसकेको अवस्थामा नेपालमा भने थप्ने काम भइरहेको भन्दै जनता आफै सचेत भइसकेको अवस्थामा लकडाउन मात्रै बढाउनुको औचित्य नभएको बताए ।

एशोसियशनका सचिव अनुप बरालले लकडाउनका नाममा जनतालाई थुन्ने मात्रै काम भएको बताए । उनले लकडाउन थपिँदा उद्योग व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै यसको सबैभन्दा ठूलो मार अटोमोवाइल क्षेत्रलाई परेको बताए । उनले आफूहरुलाई सरकारले कुनै राहत पनि उपलब्ध नगराएको सुनाउँदै बरालले कम्तिमा लकडाउन हटाइए गरेर खान पाइने बताए ।

Advertisement

Advertisement

Advertisement