सत्र लाख घुस लिने नापी अधिकृतसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सेवाग्राहीसँग १७ लाख घुस लिने नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ५ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरु बिरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माले सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरेको सूचनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बाँडीचुँडी खाने मनसायले सेवाग्राहीसंगबाट सत्र लाख घुस लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

घुस रकम सहित पक्राउ परेकाहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम बिगो दाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement