डाक्टर अर्थमन्त्री काम लागेनन्: सांसद, आफ्नै पार्टीका डाक्टरलाई भन्नुस्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । सोमबार दिनभर अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा जवाफ दिनै व्यस्त थिए । पटक पटक रोष्ट्रम पुगेर प्रस्ताव पेश गर्ने र सांसदले उठाएका जिज्ञासाहरुको जवाफ दिईरहेका मन्त्री खतिवडाले अन्तिममा भने आफ्नो चित्त दुःखेको धारणा राखे । उनले जति राम्रो र लोकप्रिय बजेट ल्यायो उति नै आलोचना हुन थालेकोमा आश्चर्य पनि व्यक्त गरे ।

‘जब बजेट अलि राम्रो हुँदै जान्छ, धेरै लोकप्रिय बन्दै जान्छ, त्यति धेरै बिरोध गर्नु पर्ने हो की ? होइन भने फ्याक्टमा बसेर कुरा गरौं । बजेटले कहाँ निर बाटो बिराएको छ र बिग्रेको छ भनेर हेरौं ।’, अर्थमन्त्री डा. खतिवडाले भने ।
उनले बजेटको व्यापक आलोचना भएकाले आफुलाई राम्रो बजेट ल्याएको महशुस भएको पनि बताउन भ्याए ।

‘बजेट समग्रमा राम्रो बनेको रहेछ भन्ने नतिजामा पुग्नुपर्ने भयो मैले । किन भने तथ्यमा आधारित भएर आलोचना गरियो भने त्यसले हामीलाई राम्रो गर्ने अझ माथी जाने र अझ पारदर्शी र व्यवस्थित ढंगले अघि जान सहयोग गर्छ । तर राम्रो कामको पनि अति धेरै आलोचना हुन थालेपछि ठिक गरिएको रहेछ भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।’
उनले काँग्रेस सांसदहरुलाई सबै डाक्टरहरु खराब हुन्छन् भन्ने निष्कर्षमा नपुग्न चेतावनी पनि दिए । ‘डाक्टरहरु सबै खराब हुन्छन् भनिदिनु भयो, आफ्नै पार्टीकालाई भनेको भए त मलाई केहि आपक्ति थिएन, अरु पार्टीकालाई नभनिदिनु होला ।’, डाक्टर खतिवडाले कटाक्ष गरे ।

बजेटको छलफलमा काँग्रेस सांसद देवेन्द्रराज कँडेलले नेपालका लागि कुनै पनि डाक्टर अर्थमन्त्रीले उपलब्धि नदिएको आरोप लगाएका थिए । ‘हामीले जति पनि डाक्टर अर्थमन्त्रीहरु पायौं, त्यसबाट हामीले उपलब्धि पाउन सकेनौं ।’, सांसद कँडेलले भनेका थिए ।

उनले सुवर्ण शमशेर, भरत मोहन अधिकारी, महेश आचार्य, ज्ञानेन्द्र कार्की, कृष्ण बहादुर महरा, वर्षमान पुनदेखि विष्णु पौडेलहरुले बजेट ल्याउँदा नागरिकमा उत्साह दिएको तर विज्ञ डाक्टरहरुको बजेटमा नागरिक निरास भएको पनि बताए । तर विदेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरुले देशको वास्तविकता नबुझेको पनि उनको आरोप थियो ।

उनले विदेशमा पढेका डा. रामशरण महतदेखि डा. बाबुराम भट्टराईसम्मले नागरिकलाई निरास बनाएको टिप्पणी पनि गरे । कडेँललले डा. खतिवडालाई अरुको आशिर्वादमा आएको आरोप समेत लगाए । ‘युवराज डाक्टर सा’ब त अरुको आशिर्वादमा आउनु भयो, उहाँले माननीयलाई चिन्नुहुन्न, हाम्रा भावनालाई पनि बुझ्नु हुन्न, जनप्रतिनिधीलाई भेट्न उहाँलाई फुर्सद नै छैन् । उहाँका क्रियाकलाप ठुला ठुला व्यापारीसँग मिल्छ ।’

Advertisement

Advertisement

Advertisement