माथिबाट आदेश मात्रै आउँछ, बजेट आउँदैन, स्थानीय तहका क्वारेन्टाइन अस्तव्यस्त

Advertisement

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन । खानेपानीको अभाव छ । भारतबाट आएका नागरिकलाई खाना, खाजा, बास र स्वास्थ्य परीक्षण निःशुल्क भनिए पनि त्यो व्यवस्था हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका–१ का हर्कबहादुर चन्द पाँच दिनअघि भारतको राजस्थानबाट घर फर्किए । कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनलाई धनगढीको मुख्य बजारस्थित त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ । ‘बेसार र नुन हालेको भात मात्रै दिन्छन्, मैले खानै सकिनँ’, उनले भने, ‘घरबाट खाना मगाएर खाइरहेको छु ।’

क्वारेन्टाइन क्षेत्रबाट २० मिनेटमा उनको घर पुगिन्छ । ‘कोरोना लागिहाले पनि इम्युनिटी (प्रतिरोध क्षमता) बढाउनुस् भन्छन् सबै’, उनले भने, ‘बेसार हालेको भात खाए के इम्युनिटी बढ्छ ? त्यसैले घरबाट खाना मगाइरहेको छु ।’

सोही वडाकै उमेशसिंह ठगुन्ना र उनका भाइ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको मंगलबार तीन दिन भयो । उनीहरूले त्रिनगर माविको भवनको बरन्डामा बेन्च राखेर खाट बनाएका छन् । ‘यो विद्यालयभित्र हुलिदियो । केही थिएन । सबै कोठा भरिभराउ थिए । काँ गएर सुत्नु त ? ’, उमेशले भने, ‘त्यसैले यो बरन्डामा बेन्च जोडेर पल्टिने जुक्ति निकालेका छौं ।’

उनीहरूलाई पनि बिहान नास्ता, दिउँसो र बेलुकीको खाना घरकाले ल्याइदिन्छन् । ‘नास्ता र खाना मात्रै होइन, ओढ्ने–ओछ्याउने र पंखासमेत हामीले घरबाट मगाएका छौं’, उमेशले भने, ‘सुरुको दिन त बिजुली पनि दिएन । कराएपछि मात्रै बल्ल बिजुली दियो । अहिले बरन्डामा सुतिरहेका छौं ।’

त्रिनगर माविमा वडा नम्बर १ र ४ का ६० जनाभन्दा स्थानीय क्वारेन्टाइन बसेका छन् । यही विद्यालयमा बसेका धनगढी–३ का ४७ वर्षका पुरुषको दुई दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

सँगै भारतबाट आएर एकै विद्यालयमा क्वारेन्टाइन बसेका व्यक्तिमा कोरोना पुष्टि भएपछि अरू नागरिक त्रासमा छन् । उनीहरूले कोरोनाका बिरामी बसेको कोठा छाडेका छन् । उनले प्रयोग गर्ने गरेको धारामा पनि जान छाडेका छन् ।

‘संक्रमितहरूको पनि सीमामै छनोट गरिदिएको भए राम्रो हुन्थ्यो’, हर्कबहादुर चन्दले भने, ‘कोरोना लागेका र नलागेका एकै विद्यालयमा छन् । एकै धारा छ । शौचालय पनि सेयर गर्नुपर्छ ।’

सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकामा बिहान ८ बजे खाजा, दिउँसो खाना, बेलुकी ४ बजे खाजा र राति ८ बजेभित्र खाना दिनुपर्ने तोकिएको छ । हरेक क्वारेन्टाइनमा बिहान र बेलुकी सबैको थर्मल गनबाट ज्वरो मापन गर्नुपर्ने, क्वारेन्टाइनमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

‘मापदण्डअनुसारको सेवासुविधा कसरी दिने ? न प्रदेश सरकारबाट पैसा आएको छ न संघ सरकारबाटै’, धनगढी–१ का वडाध्यक्ष सन्तोष मुडभरीले भने । उनले खानेपानी अभाव भएको पनि स्वीकार गरे ।

सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि दैनिक ५ सय १० रुपियाँ दिने भनेको वडाध्यक्ष मुडभरीले सुनाए । ‘हामीसँग रकम आएको छैन । क्वारेन्टाइनको निर्देशिका पनि बनेको छैन’, उनले भने, ‘त्यो रकम आएपछि नगदै बुझेर लैजानुहोला । अहिले घरबाटै खाना मगाउनुस् भनेका छौं ।’ घरबाट पनि खाना ल्याउन नमिल्नेहरूका लागि त्यसको बन्दोबस्त गरिरहेको उनको भनाइ छ ।

धनगढीका ४० वटा विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनमा सोमबारसम्म १ हजार १ सय २८ जना बसेका छन् । सरकारी विद्यालयमा रहेका अधिकांश क्वारेन्टाइन अस्तव्यस्त छन् ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement