तेस्रो पटक बोलपत्र आह्वान गर्दा पनि निवेदन नपरेपछि चामल खरीद अन्योलमा

Advertisement

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वा भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन ।

पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो । व्यवसायीको आग्रहानुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनोट हुन नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए तापनि दर धेरै भएपछि छनोट हुन नसकेको हो । उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनोट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ । चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी दोस्रो र तेस्रो पटक १५÷१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ ।

रोकियो गहुँ खरीद
खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया शुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरीद प्रक्रिया रोकिएको छ । गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद शुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरीद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरीद प्रक्रिया रोकिएको हो ।

कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा बाँके(नेपालगञ्ज) र रुपन्देही(भैरहवा)मा पाँचपाँच हजार गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । बन्दाबन्दीका कारण नेपालगञ्ज र भैरहवामा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement