लामो लकडाउनको असरः दाल, चामल, तेल, तरकारी सबैको भाउ बढ्यो

Advertisement

काठमाडौँ । लकडाउन(बन्दाबन्दी) जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामाथि परेको छ ।

कतिपय बिक्रेताले बन्दाबन्दीलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । बजारमा खाद्यान्नको भाउ बढ्नुका कारण खुद्रा व्यापारीले थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् । कतिपय व्यापारीले सामान नै नआएको भन्दै अरु समयमा बेच्न नसकेको सामान बेचिरहेको पाइन्छ ।

ललितपुर इमाडोलकी रमिता विष्ट बजारमा सामान किन्न जाँदा आफूले भनेजस्तो नपाउने र पाइएको ठाउँमा पनि बढी भाउ लिने गरेको बताइन् । खासगरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र साबुन, सरफ खरिद गर्दा यो समस्या आइरहेको छ । गत साता आफूले खोजेको कम्पनीको चाउचाउ नपाएकाले आफूले अर्को कम्पनीको किनेको उनले बताइन् । मङ्गलबार भने उनले धेरै पसल चाहारेर मूल्य रु १५ पर्ने चाउचाउ रु २० तिरेर किन्नुभयो । दुई महिना पहिले रु एक हजार ६०० मा किनेको चामल अहिले एक हजार ८०० मा किनेको उनले बताइन् । उनल े भनिन्, “के गर्नु दाल, चामल महँगो नै भए पनि किनेर खानैपर्यो ।”

बन्दाबन्दी जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य ह्वात्तै बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । तरकारीको मूल्य बन्दाबन्दीको शुरुको साताभन्दा ह्वात्तै घटे पनि अझै किसानले पाउने मूल्य र उपभोक्ताले किन्नेमा धेरै फरक रहेको उनले बताए । किसानले १०÷१५ मा बेचेको तरकारी उपभोक्तालाई बजारमा अहिले पनि रु ४०÷५० सम्ममा किन्नु परेको छ । स्याउ, अनारलगायतका फलफूलको मूल्य बढिरहेको छ । बन्दाबन्दीलाई बिचौलियाले कमाउने अवसरका रुपमा लिइरहेको उनको भनाइ छ । उनले भने, “यस्तो समयमा सरकारले बजारको प्रभावकारी अनुगमन गरेर कारवाही गर्नुपर्छ ।”

बन्दाबन्दीको समयमा आमउपभोक्ताले वस्तु छनोट गर्ने अधिकारबाट वञ्चित हुनु परिरहेको अध्यक्ष तिमल्सिनाले बताए । किराना पसलले उपभोक्ताले बढी खोज्ने सामान अहिले नआएको भन्दै महिनौँ थन्किएको सामान बेचिरहेका छन् । यो समयमा ब्राण्ड नै नभएको सामान र म्याद नाघेको सामान रिप्याकिङ गरेर बिक्री हुनसक्ने उनले बताए । बिक्रेता र उत्पादक दुवैको मिलेमतोमा अहिले कमसल सामग्रीको बिक्री हुनसक्ने सम्भावना रहेको छ । स्थानीय सरकारले खाद्यान्न पसल खोल्नका लागि थोरै समय तोकेकाले पनि बजारमा भीडभाड भइरहेको उनले बताए । उनले भने, “कतिपय पालिकाले दिनमा एक दुई घण्टाका लागि मात्रै बजार खोल्दा भीडभाड बढेको, यसले गर्दा सङ्क्रमण फैलने जोखिम छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमितरुपमा अनुगमन गरेर गल्ती भेटिएमा कारवाही भइरहेको जनाएको छ । विभागले उपभोक्तालाई गुनासो गर्नका लागि ११३५ नंको व्यवस्था गरेको छ । यो नम्वरमा खाद्यान्नमा मूल्यवृद्धिका गुनासो आइरहेको र त्यसकै आधारमा अनुगमन र कारवाही भइरहेको विभागका सूचना अधिकारी रवीन्द्र अधिकारीले बताए । बिक्रेतामार्फत होलसेलसम्म पुगेर अनुगमन गरिएको उहाँले बताउनुभयो । बन्दाबन्दीको शुरुमा ६ महिनालाई पुग्ने खाद्यान्न छ भन्ने बिक्रेता अहिले दुई महिना नाघ्दा पहिलेको स्टक सकिएको र नयाँ सामानमा मूल्य बढेर आएको भनिरहेको उनले बताए । उनले भने, “त्यसैले हामीले बिक्रेतासँगै आपूर्तिकर्तालाई पनि कारवाहीको दायरामा ल्याइरहेका छौँ ।”

खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल कुन कुन समयमा खोल्न दिने भनी नगरपालिकाहरुले फरक फरक समय तोकेका छन् । स्थानीय तहले त्यहाँको आवश्यकताअनुसार समय तय गरे पनि कतिपय उपभोक्ता र बिक्रेताको गुनासो विभागमा आइरहेको छ । भाटभटेनीलगायत सुपरमार्केटलाई लामो समय र अरुलाई किन कम समय भन्ने किसिमका गुनासो आउने गरेको निर्देशक अधिकारीले बताए । उनले भने, “हामीले यस किसिमका गुनासोहरु प्रशासन र स्थानीय तहसँग मिलेर सम्बोधन गरिरहेका छौँ ।”

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १६८ स्थानमा कारवाही गरिसकेको छ । चालू आवमा अहिलेसम्म एक हजार ७६५ जनालाई कारवाही भएको बताइएको छ । विभागले बन्दाबन्दीको अवधिमा रु एक करोड ५० लाख जरिवाना गराएको छ । चालू आवमा जरिवानावापत रु तीन करोड दुई लाख तिराइएको विभागले जनाएको छ ।

बन्दाबन्दीको समयमा खाद्यान्न, मास्क, ग्यासको अभाव र मूल्य वृद्धिका गुनासो बढी आएका छन् । बन्दाबन्दीको शुरुका सातामा ग्यास र मास्ककोे अभावको गुनासो बढी आए पनि अहिले यस्ता गुनासा कम आइरहेका छन् । रासस

Advertisement

Advertisement

Advertisement