राम कुमार भट्टराईको अगुवाईमा चन्द्रपुरमा खडा भयो ४० बेडको कोरोना अस्पताल

,   २१ जेष्ठ २०७७, बुधबार, ११:३१ pm   

काठमाडौं । संबिधान सभा सदस्य तथा नेकपा नेता रामकुमार भट्टराईको अगुवाईमा रौतहटको चन्द्रपुरमा ४० बेडको आइसोलेसनसहितको कोरोना अस्पताल सञ्चालनमा आएको छ । चन्द्रपुर नगरपालिका २ स्थित शहिद पार्कमा ४० बेडको कोरोना अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनका लागि संबिधान सभा सदस्य तथा नेकपा नेता भट्टराईले लकडाउन सुरु भएदेखि नै प्रयास गरिरहेका थिए ।

अन्ततः चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाको सहभागीतामा आइसोलेनसहितको संयुक्त अस्थायी अस्पताल सञ्चालनमा आएको हो । चार वटै नगरपालिकालाई संयुक्त अस्पताल सञ्चालनका लागि मनाउनेदेखि काठमाडौंबाट आवश्यक स्वास्थ्य सामग्री र उपकरणको जोहो गर्न समेत भट्टराई आफैं लागिपरेका थिए ।
जिल्लामा चार नगरपालिकालाई संयुक्त अस्पताल सञ्चालनका लागि मनाएर काठमाडौं आएका भट्टराई आफैं स्वास्थ्य सेवा विभाग पुगेर स्वास्थ्य सामग्री तथा उपकरण लिएर जिल्ला पुगेका छन् ।

अस्पताल सञ्चालनका लागि काठमाडौं रहेकी विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले समन्वय गरेकी थिइन भने दौडधुपको काम युवा नेता बिनोद खुलालले गरेका थिए ।  बुधबार मध्यरातमा आवश्यक सेनिटाइजर, सर्जिकल मास्क, एन९५ मास्क, थर्माेमिटर, पञ्जा, सर्जिकल क्याप, चश्मासहितको समान बोकेर भट्टराई रौतहट पुगेका छन् । बिहिबारबाट अस्पतालले सेवा आरम्भ गर्नेछ ।

aecc

‘लामो समयको मेहनतपछि जिल्लामा आइसोलेशनसहितको कोरोना अस्पताल सञ्चालन गर्ने सफलता प्राप्त भएको छ, सबै भन्दा धेरै कोरोना संक्रमित फेला परेको रौतहटका लागि कोरोना अस्पताल सञ्चालन कोशे ढुंगा नै हो, अब जिल्लामै पीसीआर परिक्षणको व्यवस्था मिलाउने प्रयास भैरहेको छ’, भट्टराईले भने ।

उनी २०७० सालको संबिधान सभा निर्वाचनमा रौतहटको तत्कालिन क्षेत्र न. ६(हालको ४)बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भट्टराईलाई रौतहटमा स्वच्छ छवि र विकास प्रेमी नेताका रुपमा लिइन्छ ।