काठमाडौंका सीडीओहरुको निर्देशन– लकडाउन अझै कडा गर्नु, व्यापारीलाई पसल खोल्न नदिनु

,   २२ जेष्ठ २०७७, बिहीबार, ०२:२८ pm   
lockdown_banda_kathmandu_sunsan

काठमाडौं । लकडाउन तोड्दै काठमाडौंका व्यापारीहरुले पसल खोल्न थालेपछि बिहीबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सीडीओहरुको आकस्मिक बैठकले लकडाउनलाई थप कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ । लामो लकडाउनका कारण आफूहरुलाई जीवनयापन गर्नै धौधौ भएको भन्दै पसल खोल्न र सडकमा उत्रिन थालेपछि काठमाडौंका सीडीओदेखि सुरक्षा निकाय र स्थानीय निकायका प्रतिनिधिहरुको बैठक बसेको थियो ।

बैठकले लकडाउनको कडाइका साथ पालना गर्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै लकडाउन उलङ्घन रोक्न प्रहरीलाई निर्देशन दिएको हो । सरकारले यही आउँदो जेठ ३२ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टका अनुसार लकडाउनलाई कडाइका साथ पालना गराउने निर्णय भएको छ ।

तर यता व्यापारीहरु भने अब आफूहरुले लकडाउन थेग्न नसक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउँदै आफूहरु पसल सञ्चालन गर्न तयार रहेको तर अब पसल बन्द गरेर बस्न नसक्ने निष्कर्षमा पुगेका छन् । उनीहरुले आफ्ना परिवारदेखि कर्मचारी पाल्न कठिन हुँदै गएको अवस्थामा कर तिर्न सरकारले ताकेता गरेको सुनाउँदै पसल अझै बन्द गरे आफूहरुको स्थिति नाजुक हुने बताएका छन् । काठमाडौंको नयाँ सडकदेखि जोरपाटीका व्यापारीहरुले लकडाउन तोडेर पसल सुरु गरेका छन् । अन्य उद्योगी व्यापारीले पनि लकडाउन तोड्ने चेतावनी दिइसकेका छन् ।

aecc

कर्पोरेट नेपालसँग कुरा गर्दै भट्ट भन्छन्, ‘हालसम्म सरकारबाट जारी भएका नीति निर्देशन कडाईका साथ पालना गराउने निर्णय भएको छ । व्यापारीहरुसँग पनि हामी सम्पर्कमा छौं । उहाँहरुले लकडाउनको पालना गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले लकडाउन खुकुलो बनाउने निर्णय भएको भनेर आएको समाचार असत्य भएको भन्दै कोरोना संक्रमणको जोखिम बढिरहेको कुरालाई दृष्टिगत गरी लकडाउनलाई कडाईका साथ पालना गराउने निष्कर्षमा आफूहरु पुगेको बताए ।