लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न निजी क्षेत्रको सुझाव, उद्योगमन्त्री भन्छन्- ‘छिट्टै निर्णय हुन्छ’

,   २४ जेष्ठ २०७७, शनिबार, ११:१६ am   
CNI-Chamber-FNCCI

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी ९लकडाउन०को ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताए । उनले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने बताए ।

उनले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्लाअनुसार मोडालिटी फरक हुने बताए । मन्त्री भट्टले प्रदेश नं २, कर्णाली र सूदुरपश्चिम प्रदेशमा भारतबाट आएका सङ्क्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गरे ।

aecc

कोभिड–१९ का कारणले मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताए ।