रुकुम घटनाका घाइतेहरु अझै छटपटाउँदै, दोषीहरुलाई कहिले होला कारवाही ?

Advertisement

जाजरकोट । सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मेसिन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

गत जेठ १० गते भेरी नगरपालिका–५, रानागाँउका नवराज विक प्रेमिकालाई बिहे गर्न चौरजहारी नगरपालिका–८, सोती जाँदा सुदीप पनि साथै थिए । फर्कदा गाँउलेको बर्बर आक्रमणमा नवराजसहित ६ जना केटाहरुको ज्यान गयो । सुदीपसहित १३ जनाले बल्लतल्ल ज्यान जोगाए, एक जना सुरुमै फुत्कन सफल भए, बाँकीलाई मरणासन्न हुनेगरी पिटियो । गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मेसिन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभई घर फर्कनुपर्यो, २ हजार ८ सय ४० रुपियाँ तिर्न बाँकी थियो । यता, ज्यानको दुखाइ कम भएको छैन, उता अस्पतालले ताकेता गरिरहन्छ । ‘पैसा छैन, न अहिले काम गर्न सकिन्छ, न काम पाइन्छ । कसरी तिर्ने, थाहा छैन,’ सुदीपले दुखेसो पोखे ।

पहिल्यैको उपचार खर्च त बुुझाउन नसकेका सुदीपसँग थप उपचार गर्न कसरी पैसा होस् । टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ उनलाई तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन । शुक्रबार रानागाउँस्थित उनको घर पुग्दा बडो चिन्तित मुद्रामा भेटिए । ‘सबै आउँछन्, के भयो भनेर सोधेको–सोध्यै गर्छन् तर उपचार गर्न कसैले वास्ता गर्दैनन्,’ सुदीपले नमिठो अनुभव सुनाए ।

पश्चिम रुकुमको नरसंहारले देश तातेको छ, विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मीहरु जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी हुन्छ । तर, सुदीपझैं घाइते भने उपचार नपाएर छटपटाइरहेका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालयले समेत घाइतेको उपचारमा ध्यान दिएको छैन । स्थानीय अगुवा बसुन्धरा विक भन्छिन्, ‘सबै मर्नेको पछाडि लागे, घाइतेहरुको बिजोग छ तर कसैलाई मतलब छैन ।’ जाजरकोट पुगेका अधिकारकर्मीले समेत घाइतेको समयमै उपचार गराउन कुनै पहल नचालेको उनको गुनासो छ । स्थानीय प्रतिनिधिले घाइतेको घर पुगेर सहानुभूतिसमेत प्रकट गरेका छैनन् ।

सुदीपको भन्दा थोरै माथि अर्का घाइते मदन शाहीको घर छ । काठमाडौंमा अध्ययन गरिरहेका मदन लकडाउन हुने भएपछि घर गएका थिए । उनी भर्खर १८ वर्ष पुग्दैछन्, उनको पनि टाउको र काँधमा ठूलो चोट छ । हात थररर कापिरहन्छन् । खुट्टा चलाउन सक्दैनन् । मुन्टो बांगिरहन्छ । उनका अनुसार दुई तीन जनाले टाउको समातेर ढुंगाले हानेका थिए, बाहिर घाउ त छँदैछ, भित्रसम्मै असर परेको अनुभूत हुन्छ उनलाई तर उनको पनि उपचार हुन सकेको छैन । उनलाई पनि मेसिन अस्पतालले १५ सय तिर्न फोन गरिरहन्छ ।

‘छोरो बाँच्यो तर टाउकोको चोटले सधैं सताउने भयो । उपचार गर्न कसैले वास्ता गरेनन्,’ मदनकी आमा लक्ष्मी शाही सुक्सुकाउँदै भन्छिन्, ‘मर्ने मरेर गइहाले, बाँच्नेको पनि बिचल्ली हुने भयो ।’ काँध र खुट्टामा जडिबुटी ओखती बनाएर हालिरहेकी छन् । बाहिरबाट त घाउ सुक्दै गएको छ । भित्री चोट पहिल्याएर निको पार्न छोरालाई छिट्टै अस्पताल लैजान चाहिन्छन् । ‘तर, अस्पताल जान पैसा छैन,’ यसो भनिरहँदा उनका आँखा टिल्पिलाएका थिए ।

लक्ष्मीका अनुसार मदन निदाउनै सक्दैनन्, झक्सिरहन्छन्, सुतेको बेला पनि चिच्याएझैं गर्छन् । एक्कासि ४०–५० जनाले ढुंगाले हिर्काएको, रुँदै–कराउँदै, चिच्याउँदै भेरीमा फाल हालेको, भेरीको एउटा भंगालो तरिसक्दा पनि गाँउलेले लखेटी–लखेटी कुटेको आततायी क्षण बिर्सनै सकेका छैनन् । त्यसमाथि ६ जना साथी गुमाएको पीडा । ‘जतिबेला पनि हामीलाई खेदेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ । बल्लतल्ल निदायो भने फेरि त्यही घटनाले झस्काइहाल्छ,’ दबेको स्वरमा मदनले भने । भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनलाई त्यहाँ पहिल्यै जम्मा भएको भीडले ढुंगा र लात्ती बर्साएको थियो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement