लकडाउनले मात्रै कोरोना संक्रमण रोकिन्न भन्ने देखियो, अब मोडालिटि फेरौंः व्यवसायी

,   २५ जेष्ठ २०७७, आईतवार, ०८:५८ am   
private-sector

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् ।

बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल पर्ने खतरा भएको भन्दै उद्यमी व्यवसायी सरकारबाट बन्दाबन्दीको स्वरूप तत्काल पुनर्विचार गर्ने अपेक्षामा छन् । सरकारले यही जेठ ३२ सम्म बन्दाबन्दीलाई निरन्तरता दिएको छ ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुनेगरी बन्दाबन्दीको शैली परिवर्तन गर्न यसअघि नै सरकारलाई औपचारिक आग्रह गरिसकेको छ । कतिपय स्थानमा अत्यावश्यकबाहेकका पसल व्यवसाय पनि खुल्न थालिसकेका छन् । कोरोना जोखिममा बच्न आफैँ सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा व्यवसायी पुगिसकेको पछिल्ला घटनाक्रमले देखाउँछ ।

aecc

नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माका अनुसार अब बन्दाबन्दी भन्दै सबै चिज थाती राख्ने अवस्था छैन । “निश्चित मापदण्ड अपनाएर सुरक्षाका साथ अब अर्थतन्त्रलाई गति दिनुपर्छ,” उनले भने, “यसका लागि सरकारले स्तरीय र उचित मापदण्ड निर्धारण गरेर कम जोखिमयुक्त क्षेत्रलाई सुचारु हुने वातावरण बनाउनैपर्छ ।”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि यसमा राजी छन् । उनले थपे, “पूरै मुलुकलाई अब बन्द अवस्थामा राख्नुहुँदैन, सङ्क्रमण बढी देखिएका भौगोलिक क्षेत्रमा कडाइ गर्ने र अन्य क्षेत्रमा अवस्था सुरक्षित तरिकाले सहज बनाउनुपर्छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाल पनि बन्दाबन्दीले समस्या स्थगन मात्र गर्ने तर पूरै निदान नगर्ने प्रमाणित भएको बताए । कोरोनाबाट जोगिन खोज्दा भोकमरीले अझ धेरै मर्नुपर्ने अवस्था आउन लाग्यो,” उनले भने, “लाखौँलाई बेरोजगार बनाउने, उद्योग व्यवसाय थला पार्ने र न्यूनतम बाँच्ने आधारसमेत कमजोर बनाउने लकडाउनको स्वरूप परिवर्तन गर्नैपर्छ ।”

शर्माले आममानिसलाई घरबाहिर रहँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नेमा अझै अभ्यस्त बनाउनुपर्ने आवश्यक रहेको औँल्याए । उनले बन्दाबन्दीको निरन्तरताको सट्टा कोरोना परीक्षणको तीव्रता अपरिहार्य रहेको औँल्याउनुभयो ।

“कर्मचारी तथा श्रमिकलाई स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गराएर कार्य क्षेत्रमा ल्याउनुपर्ने हुन्छ,” उहाँ भन्नुहुन्छ, “तर परीक्षणको अहिलेको गति र पूर्वाधारले त्यो असम्भवप्रायः जस्तै छ, यसको समाधान सरकारले खोज्नैपर्छ । ”

सरकारले गत महिना उद्योग सञ्चालनका लागि निश्चित मापदण्ड निर्धारण गरेको थियो तर त्यस्ता मापदण्ड कार्यान्वयमा कठिनाइ आएपछि धेरैले उद्योग सञ्चालन गर्न सकेनन् । खासगरी कर्मचारी र श्रमिकलाई आवासीय सुविधा दिन उनीहरूलाई समस्या परेको थियो । बन्द होटलले असहयोग गरेको कतिपय उद्यमीको अनुभव छ । एक जनाका लागि दैनिक न्यूनतम दुई हजार रुपियाँ थप लगानी गर्नुपर्ने अवस्थाले उद्यमी समस्यामा परेका थिए ।
पछिल्लो समय छिमेकी भारतलगायत विभिन्न मुलुकले बन्दाबन्दीको तरिकामा परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउन थालेका छन् । करिब छ दर्जन मुलुककले अन्तर्राष्ट्रिय उडानसमेत सुचारु गरिसकेका छन् । चेम्बरले उद्योग व्यवसाय सहज बनाउन केही तरिका सुझाएको छ । जसअनुसार पसल व्यवसाय बिहान १०ः०० देखि साँझ ५ः३० बजेसम्म खोल्ने, जिल्लाभित्र यातायात सुरु गर्नेलगायतका सुझाव छ ।

बन्दाबन्दीको यो अवधिले व्यवसायीमा नियमित काममा फर्कने बाध्यता र मनोबल दुवै बढेको छ,” श्रेष्ठ भने, “सिमाना, हवाई सेवा, सिनेमा मनोरञ्जन स्थल, धर्म स्थल, विद्यालयजस्ता क्षेत्रलाई बन्द राखेर अरूलाई विधिसम्मत तरिकाले खोल्नुपर्छ ।” सङ्क्रमण उच्च देखिएका जिल्लाहरूमा भने पूर्ण लकडाउनमै रहनुपर्ने उनको सुझाव छ ।

गोरखापत्र दैनिकबाट ।