गण्डकीमा ३८ जना कोरोना संक्रमित थपिए, बैतडी र डोटीमा क्वारेन्टिनमा बसेका २ व्यक्तिको मृत्यु

Advertisement

गलकोट । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गर्नुभयो । थप भएका ३८ सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ ।

कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जनाका कोरोना पुष्टि भएको हो ।

क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
बैतडी । भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

क्वारेन्टिनमा मृत्यु
डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थिए । ‘१२÷१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुबा ऐरले भने, “क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।”

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टिन बस्ने शर्तमा भित्र पस्नुभएको थियो । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।” मृतकका बुबा पनि गए रातिबाट क्वारेन्टिनमै बसेका छन् ।

Advertisement

Advertisement

Advertisement