देशभित्रै उद्यमशीलताको विकास गरी औद्योगिक लगानीको प्रवद्र्धन गर्छौं: मन्त्री भट्ट

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभित्रै उद्यमशीलताको विकास गरी औद्योगिक लगानीको प्रवद्र्धन गर्ने सोचका साथ सरकार प्रयासरत रहेको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका बारेमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उनले उद्यमशील जनशक्ति तयार पारी उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको बताए ।

कोरोनाका कारण मुलुकको उद्योग क्षेत्रमा परेको प्रभावलाई न्यून गर्दै उद्योगी, श्रमिक तथा आम उपभोक्ताको हितका लागि सरकारले उच्च प्राथमिकताका साथ नीति तथा कार्यक्रम र बजेटको विनियोजन भएको स्पष्ट पारे । सीमित बजेटका कारण सबैको माग सम्बोधन गर्न नसकिएकामा क्षमा माग्दै उहाँले बाँकी रहेका कार्यक्रम आगामी आवमा समावेश गर्ने मन्त्री भट्टले विश्वास दिलाए ।

औद्योगिक लगानीको विस्तारका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले उद्योग क्षेत्रका लागि विनियोजन गरिएको बजेटको पूर्ण रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने र त्यसका लागि नीतिगत, प्रक्रियागत एवम् संस्थागत सुधारको कामलाई विशेष ध्यान दिइने दृढता व्यक्त गरे । स्थानीय कच्चा पदार्थ, पूँजी र सीपलाई प्रयोग गरी साना, मझौला तथा घरेलु उद्योगको विकासका लागि बजेट उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री भट्टले आगामी आवमा स्थानीय तहमा १३० औद्योगिक ग्राम स्थापना गरी रोजगारी अभिवृद्धि गरिने बताए ।

Advertisement

Advertisement

Advertisement