दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ माः मन्त्री विश्वकर्मा

Advertisement

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताएका छन् । आर्थिक वर्ष २०७७–७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पारे ।

“पुरानै तथा अत्यवाश्यक काममा मात्र खर्च गरिनेछ’’, उनले भने । अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेका थिए । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ । ’’आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भने ।

सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताए । केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित रहेको आरोपको खण्डन गर्दै उहाँले बजेट कुनै क्षेत्र र तहमा केन्द्रित नरहेको स्पष्ट पारे । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उनको भनाइ थियो ।

आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताए । सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उहाँले उल्लेख गरे । आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उनले स्पष्ट पारे । उनका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०बाट आर्थिक लाभ लिएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री विश्वकमाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए । उनले सो आरोप संसद्को रेकर्डबाट हटाउनसमेत माग गरे । मन्त्री विश्वकर्माले विनाआधार आफ्नो छवि धमिल्याउने काम गरिएको छ भन्दै आफूले खेलकूदको क्षेत्रमा अभूतपूर्व काम गरेको जिकिर गरे । ’’बजेट न्यून भएका कारण खेलकुदका सबै विषयलाई सम्बोधन गर्न सकेका छैनौँ, रु १९ करोड बजेटले कहाँ के गर्ने ?’’, उनले भने । निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेको उनको भनाइ थियो ।

सो अवसरमा सांसद रंगमती शाही, प्रेम सुवाल र एकवाल मियाँले मन्त्री विश्वकर्मालाई पूरक प्रश्न गरेका थिए । सांसद शाहीले खेलकूदको बजेट कम भएको, सांसद सुवालले युवालाई राष्ट्रिय सेवा दलको तालीम तथा सांसद मियाँले देशकै पुरानो वीरगञ्ज रंगशाला जीर्ण भएका बारे प्रश्न सोध्नाका साथै तराई –मधेशमा लोकप्रिय कुसती र कबड्डी खेललाई प्राथमिकतामा राख्न मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement