कुवेतबाट १५७ जना महिला कामदारहरु लिएर जहाज आइपुग्यो

Advertisement

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई ल्याउने क्रममा कुवेतबाट १५७ महिला कामदारलाई लिएर बिहीबार एउटा जहाज काठमाडौं आइपुगेको छ । कुवेतबाट स्थानीय समयअनुसार बिहान ४ बजे उडेको सो जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कुवेतबाट आएको यो पहिलो टोली हो ।

गैरकानुनी रुपमा कुवेतमा बसेर आममाफी पाएका नेपाली महिला कामदारहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतको अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखिएकोमा नेपालले समस्यामा परेकाहरुलाई देश भित्राउने बाटो खोलेपछि ल्याइएको हो । आउनुअघि उनीहरुको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएको थियो । अवतरणपछि नेपाली सेनाको टोलीले उनीहरुको सामान्य स्वास्थ्य परीक्षण गर्दै तोकिएको ठाउँतर्फ लगेको थियो ।

कुवेतले गैरकानुनीरुपमा बस्दै आएकालाई बिनाजरिवाना स्वदेश फर्किन दिने भन्दै उनीहरुलाई अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा ल्याएर राखेको थियो । उनीहरुलाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन कुवेतले नेपालसँग प्रस्ताव राखेसँगै कोभिड १९ संकट व्यवस्थापन समितिले प्रस्ताव स्वीकार गरेको थियो । यस्ता अस्थायी क्याम्पमा करिव तीन हजार नेपाली रहेको सरकारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement