इन्टरनेट स्लो हुनुको कारण के हो ?

Advertisement

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकप्रति ग्राहकको कति धेरै गुनासो छ भनेर बुझ्न अन्त जानुपर्दैन । सेवा प्रदायकको फेसबुक पेजमा आउने कमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी इन्टरनेटको स्पिड सुस्त भएको भन्ने गुनासो हुन्छन् । प्रायःले मैले यति स्पिडको इन्टरनेट लिएको थिएँ । तर थोरै मात्र स्पिड किन छ भन्ने गुनासो गरेका हुन्छन् । उपभोक्ताले बारम्बार गुनासो गरिरहे पनि सेवा प्रदायक भने आफ्नोतर्फबाट कुनै समस्या नरहेको दाबी गरिरहन्छन् ।

इन्टरनेट स्लो हुनुमा कहिले सेवा प्रदायकको नेटवर्क त कहिले उपभोक्ताको राउटरको पनि समस्या हुन सक्छ । योबाहेक अन्य प्राविधिक पक्षले पनि हाम्रो इन्टरनेटको गतिलाई धेरै प्रभाव पारिरहेका हुन्छन् । इन्टरनेटको स्पिडमा राउटरको गुणस्तर, उपभोक्ताको चेतना, माग र आपूर्तिबीचको सन्तुलन एवं कन्टेन्टसहित धेरै पक्षले प्रभाव पारिरहेको हुन्छ ।

इन्टरनेट सेवा प्रदायकको दाबी छ– ८० प्रतिशत गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन् । ‘हामीलाई आउने प्रायः गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन्,’ इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृत समितजन थिङ भन्छन्, ‘भन्नलाई फाइबर इन्टरनेट भनिए पनि वाइफाईमा बढी समस्या आउने गरेको छ ।’

सेवा प्रदायकले फाइबर वा तारमार्फत राउटरसम्म इन्टरनेट क्वालिटी नियन्त्रण र प्रबन्ध गर्न सक्ने भए पनि राउटरपछिको मोबाइल वा ल्यापटपमा वाइफाई कनेक्टिभिटीमा आउने समस्या प्रबन्ध गर्न धेरै कठिन हुने थिङसहित धेरैको भनाइ छ । इन्टरनेटका उपभोक्तामध्ये सबैले घरमा मोबाइल वा ल्यापटपमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्छन् । केबल धेरै कमले प्रयोग गर्छन् । नेपालमा प्रायः वाइफाई २.४ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्छन् । यो निःशुल्क फ्रिक्वेन्सी हो । यो प्रयोगका लागि अनुमति लिनुपर्दैन, जसले प्रयोग गरे पनि हुन्छ । ‘धेरैजसो प्रयोगकर्ताले सुरुवाती समयमा इन्टरनेट ठीक थियो, अहिले किन समस्या आयो भनेर प्रश्न गर्नुहुन्छ,’ उनी भन्छन्, ‘तर यसको प्राविधिक पक्ष नबुझ्दा पनि सेवा प्रदायकलाई बढी दोष आइरहेको छ, सेवा प्रदायकले पनि उपभोक्तालाई यसबारे बुझाउन सकेका छैनन् ।’

वाइफाई प्रयोगका लागि निःशुल्क फ्रिक्वेन्सीमा राखिएको २.४ गिगाहर्ज ब्यान्डमा वाइफाई सिग्नल प्रवाहका लागि जम्मा तीनवटा ननओभर ल्यापिङ च्यानल मात्रै हुन्छन् । यसको अर्थ हो, एक ठाउँमा वा वरपर २.४ गिगाहर्ज ब्यान्डका तीनवटा राउटर प्रयोग गर्दा पनि सिग्नलमा समस्या हुन्न । तर एउटै घर वा छिमेकमा बिस्तारै धेरै आईएसपीका धेरै राउटर बढ्दै जाँदा सिग्नल डिस्टर्ब हुँदै जान्छ र वाइफाईमा समस्या बढ्दै जान्छ । २.४ गिगाहर्जको राउटर एउटै क्षेत्रमा धेरै प्रयोग भएका छन् भने पनि त्यहाँ वाइफाईमा समस्या हुन सक्छ । यो राउटरको विशेषता भनेको कम ब्यान्डविथ ठूलो क्षेत्रमा प्रवाह गर्न सक्छ । त्यसकारण एक घरमा राखेको राउटर र अर्को घरमा राखेको राउटरको वाइफाई सिग्नल जुध्दा पनि इन्टरनेटको स्पिड प्रभावित हुन सक्छ । सानो क्षेत्रमा धेरै राउटर हुँदा जसको राउटर कमजोर हुन्छ, उसको वाइफाई सिग्नल प्रभावित हुन्छ । र, इन्टरनेटको स्पिड कमजोर हुन जान्छ । यो छिमेकमा कसैले ठूलो पावरको मोटरले पानी तानेपछि कमजोर मोटर भएको अन्य घरको धारामा पानी नआउने समस्या जस्तै जस्तै हो ।

निःशुल्क फ्रिक्वेन्सीमा प्रयोग हुने वाइफाईका लागि हरेक देशमा नियामक निकायले राउटरको क्षमता निर्धारण गरेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि नेपालमा प्रयोग हुने राउटरको एआईआरपी (इफेक्टिभ आइसोट्राफिक रेडिएटेड पावर) तय गरेको हुन्छ । सामान्य भाषामा भन्दा यसको अर्थ वाइफाईको प्रभाव र ब्यान्डविथको प्रवाह बढीमा कति टाढासम्म गर्न पाइने भन्ने नियम हो ।

यही नियमनका आधारमा नेपाल भित्रिने राउटरको क्षमता तय हुन्छ भने सेवा प्रदायकले पनि यही नियमनको पालना गर्नुपर्छ । तर यो नियम तोडेर कसैले योभन्दा बढी क्षमताको राउटर प्रयोग गरे भने उक्त व्यक्तिको इन्टरनेट त राम्रो होला । तर सबैले यसै गर्न थाले भने फेरि सबैको अवस्था उस्तै हुन्छ । सिग्नल राम्रै भए पनि समस्या हुन्छ । नियामक निकायले नेपालको सन्दर्भ हेरेर प्रयोगकर्ता र सेवा प्रदायकको सुविधाका लागि यस्तो नियम बनाएको हुन्छ ।

प्राविधिक हिसाबले धेरै वाइफाई राउटर छिमेकमा नजिक नजिक हुँदा यस्तो समस्या देखिने गरेको छ । तर यो समस्याको समाधान नभएको भने होइन । नेपाल दूरसञ्चार प्राधिकरणले २.४ गिगाहर्जसहित ५।२ गिगाहर्जलाई पनि निस्शुल्क फ्रिक्वेन्सीका लागि प्रयोग गर्न दिएको छ । तर नेपालमा प्रयोग हुने अधिकांश मोबाइल, ल्यापटप तथा वाइफाई राउटर २.४ गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड मात्र सपोर्ट गर्ने खालका छन् । २.४ र ५.२ गिगाहर्जको विशेषता भने फरक फरक छन् ।

२.४ गिगाहर्ज फ्रिक्वेन्सीको विशेषता भनेको यसले थोरै ब्यान्डविथ ठूलो खुला क्षेत्रमा करिब १०० मिटर प्रवाह गर्न सक्छ । यो फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटरमार्फत वाइफाई प्रयोग गरिएको छ भने एउटा तलामा राखिएको राउटरले अर्को तलामा पनि वाइफाई प्रवाह गर्न सक्छ, सिग्नल कमजोर भए पनि ।

तर ५.२ गिगाहर्ज फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटको विशेषता भने उल्टो हुन्छ । यसले धेरै ब्यान्डविथ प्रवाह गर्छ । तर सानो खुला क्षेत्र करिब २५ मिटरमात्रै । एउटा कोठामा राखिएको ५.२ गिगाहर्जको राउटरले सोही कोठाबाट अर्को कोठामा पनि वाइफाईको सिग्नल नदिन सक्छ । यो राउटर प्रयोग गर्दा हरेक कोठामा फरक फरक राउटर प्रयोग गर्नुपर्ने हुन सक्छ । तर नेपालमा एउटा घरमा राखिएको राउटर विभिन्न कोठा र फरक फरक तलामा समेत प्रयोग गरिने हुनाले प्रयोगमा भने २।४ गिगाहर्जको राउटर नै चलनचल्तीमा छ । इन्टरनेट सेवा प्रदायकहरूले पनि इन्टरनेट जडान गर्दा यही राउटर प्रयोग गर्ने गरेका छन् ।

वाइफाईका कारण इन्टरनेटको स्पिड कम भएको गुनासो सम्बोधनका लागि ५.२ गिगाहर्जको राउटरमा स्वीच हुनुको विकल्प नभएको जानकारहरूको भनाइ छ । ५.२ गिगाहर्जको राउटरमा भने धेरै च्यानल हुन्छन् । यसमा २४ वटासम्म ननओभर ल्यापिङ च्यानल हुन्छन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement