हामी राज्यको खर्च धान्न नसक्ने अवस्थामा पुग्न लाग्यौंः अर्थमन्त्री

Advertisement

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले राजश्व संकलन नहुँदा खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले दैनिक आम्दानीबाट सरकारलाई राज्य सञ्चालनको खर्च धान्न नसक्ने कठिन भइसकेको बताएका हुन् ।

अहिले राज्य संचालनका लागि मासिक ४० अर्ब आवश्यक पर्ने भए पनि राजश्व संकलन न्यून भएको भएको भन्दै उनले जेठ महिनाको आम्दानी र खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था आइसकेको बताए ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गते लकडाउन लागू परेपछि राजश्व संकलन नगन्य मात्रै भइरहेको छ। यो बीचमा उद्योगधन्दा बन्द प्रायः छन् भने नागरिक आवजजावत गर्न नपाउँदा राजश्व संकलन हुन नसकेको हो । सरकारले यही गएको जेठ २५ गतेभित्र कर तिर्न आव्हान गरे पनि चौतर्फी विरोधपछि असार ७ गतेभित्र समय थप गरेको थियो । तर सर्वोच्च अदालतले लकडाउन पूर्णरुपमा अन्त्य भएको एक महिनापछि मात्रै कर लिन अन्तरिक आदेश दिएपछि सरकार ठूलो समस्यामा परेको हो । अर्थ मन्त्रालयले उक्त आदेश पुनर्विचार गर्न सर्वोच्चसँग आग्रह गरिसकेको छ ।

अर्थमन्त्री खतिवडाले मासिक ४० अर्ब राजस्व संकलन गर्न सक्ने अवस्था नरहेकामे भन्दै जसका कारण सरकारलाई खर्च धान्न कठिनाई भएको स्वीकार गरेका हुन् । सरकारको तथ्यांक अनुसार भन्सार विभागबाट मासिक १५ अर्ब राजस्व संकलन हुने गरेको छ । यस्तै केही अर्ब आन्तरिक राजस्वबाट संकलन हुन्छ । खर्च धान्न समस्या भएपछि केही कोषहरुको रकम चलाउने तयारी भइरहेको उनले बताएका छन् ।

खर्च जुटाउन रोयल्टी रकमहरु, निष्क्रिय कोषमा रहेको रकम तान्ने प्रयासमा सरकार रहेको बताइएको छ । साथै खतिवडाले राजस्वबाट संकलित रकम विभिन्न मुद्दतिमा गएर जम्मा हुने र नियमित खर्च चलाउन सरकारले आन्तरिक ऋण उठाउनु पर्ने अवस्था रहेको भन्दै अब यो कुराको अन्त्य गर्नुपर्ने बताए । हालसम्म सरकारले एक खर्ब ६५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । आइतबारसम्म सरकारको आम्दानी सात खर्ब आम्दानी छ भने खर्च आठ खर्ब ७६ अर्ब पुगेको छ। आम्दानी र खर्चको अन्तर एक खर्ब ७६ अर्ब रुपियाँ रहेको छ।

Advertisement

Advertisement

Advertisement