तयारी नपुगेको भन्दै विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्ने कुरा अझै अलमलमै

Advertisement

काठमाडौं । हवाई भाडाका विषयमा एकपछि अर्को निर्णय गर्दै आएको सरकारले व्यवस्थापनको विषयमा स्पष्ट निर्णय नगर्दा उद्धार उडान अनिश्चित भएका छन् । विभिन्न २५ सहरको तालिका सार्वजनिक गरे पनि तयारी नपुगेकाले सोमबार र मंगलबारका उडान नहुने भएका छन्, त्यसपछिका उडानको पनि टुंगो छैन ।

सरकारले ३२ जेठदेखि ११ असारसम्म २४ हजार नागरिकलाई नेपाल फर्काउने घोषणा गरेको थियो । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट दैनिक १० वटासम्म उडान गर्ने तालिका बनाएको छ । दैनिक एक हजार आठ सयजनालाई फर्काउने योजना छ । यसका लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ गरी ४३ उडान गर्नेछन् । त्यस्तै विदेशीका एयरलाइन्सले २४ उडान गर्नेछन् ।

सरकारले संकटमा परेका मजदुरको उद्धार गर्ने भनेर मजदुरबाटै रकम संकलन गर्ने नीति लिएको छ । तर, भाडा धेरै महँगो भएकाले नेपाली दूतावासले पनि त्यो दरमा मजदुर उडाउन नसक्ने स्पष्ट पारेका छन् । तयारी नपुगेको र भाडा महँगो भएकाले दूतावासले तालिकाअनुसार उडान हुन नसक्ने सूचना जारी गरेका छन् ।

माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी सोमबार नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट हालका लागि स्थगित गरिएको जनाएको छ । यस्तै साउदी अरबबाट असार १ देखि गर्ने भनिएका विभिन्न उडानसमेत रद्द गरिएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले जानकारी गराए । ‘नयाँ भाडादर र तालिका प्राप्त नभएसम्मका लागि उडान स्थगित गरिएको सूचना दूतावासले जारी गरेको छ,’ उनले भने ।

सोमबारका लागि तय भएको मलेसियाको उडानसमेत रद्द भएको छ । सोमबार उडान हुने तालिका भए पनि आइतबारसम्म पनि टिकट बुकिङ सुरु नभएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘आजसम्म टिकट खुला भएको छैन । भोलिको उडान कसरी सम्भव होला ?’ उनले प्रतिप्रश्न गरे ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement