कर्णालीले ल्यायो ३३ अर्बको बजेट, महामारी रोकथाम र रोजगारी सिर्जना प्राथमिकतामा

Advertisement

सुर्खेत । कर्णाली प्रदेशले आउँदो आर्थिक बर्षका लागि ३३ अर्ब ७४ करोड रुपियाँको बजेट ल्याएको छ । यस प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।

जसअनुसार पुँजीगततर्फ १९ अर्ब छ करोड र (५७ प्रतिशत), चालुतर्फ ११ अर्ब ६७ करोड (३४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ दुई अर्ब ९९ करोड (९ प्रतिशत) विनियोजन गरिएको छ । कोरोना नियन्त्रण र रोजगारी सिर्जनालाइ प्राथमिकता दिइएको बजेटमा कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ८७ करोड, रोजगारी सिर्जनाको कार्यक्रमका लागि दुई अर्ब ५८ करोड विनियोजन गरिएको छ । त्यसबाहेक जनतालाई भोकमरीबाट बचाउने, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने लक्ष्य पनि बजेटमा उल्लेख छ ।

प्रशासनिक खर्चका लागि आठ अर्ब ५१ करोड छुट्टाएको कर्णालीले राजश्व संकलनबाट ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रकमबाट ११ अर्ब १९ करोड नौ लाख, केन्द्र सरकारबाट राजस्व बाँडफाँटवापत आउने सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने नौ अर्ब ६३ करोड २९ लाख र ससर्त अनुदानबाट चार अर्ब ४९ करोड जुटाउने बताएको छ । त्यसबाहेक केन्द्रबाट प्राप्त हुने समपूरक अनुदानवापत २५ करोड २५ लाख, विशेष अनुदानवापत ४६ करोड पनि स्रोतको रुपमा देखाइएको छ ।

Advertisement

Advertisement

Advertisement