नेपाल–भारत सम्वन्ध असामान्य छः भारतीय रक्षामन्त्री, गोर्खा सैनिकदेखि पशुपतिनाथसम्मको तारिफ

Advertisement

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्वन्ध सामान्य नभएको भन्दै रोटीबेटीको सम्वन्ध भएको दोहोर्याएका छन् । एक चुनावी सभामा सोमबार बोल्दै उनले दुई देशबीचको सम्वन्धको निकै तारिफ गरे ।

नेपाली भूमि हुँदै तिब्बतको मानसरोबार जाने सडकको उनले उदघाटन गरेपछि नेपालमा चर्को विरोध भएको थियो । विरोधपछि सरकारले बाध्य भएर कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्नुका साथै नेपालको नयाँ निसान छाप सच्याउन संविधान संशोधनसमेत भइसकेको छ ।

सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै अब सीमा सडक संगठन (बीआरओ)ले निर्माण गरेको लिंक रोड (लिपुलेक हुँदै)मार्फत सहज यात्रा हुने बताए । नेपालले उक्त सडकको निर्माण अघि नबढाउन भारतको ध्यानाकर्षण गराइसकेको छ ।

यद्यपि उनले धार्चुला–लिपुलेक–मानसरोवर सडक निर्माणको विषयमा नेपालसँग असमझदारी पैदा भएको स्वीकार गरे । उत्तराखण्डको सभामा बोल्दै नेपाल र भारतबीच घनिष्ठ सम्वन्ध रहेको चर्चा गर्दै सिंहले भने, ‘हाम्रो छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना भएको छ । भारत र नेपालबीचको सम्बन्ध सामान्य होइन । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको छ ।’

नेपालसँग आफूहरुको सामाजिक, भौगोलिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध रहेको बताउँदै उनले तर दुई देशबीच सीमाका बारेमा भ्रम सिर्जना भएको बताए । त्यसलाई वार्ताकै माध्यमबाट समाधान गरिने उनले बताए । सिंहले नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता नदेखिएको पनि बताए ।

पशुपतिनाथलाई आफूहरुले बिर्सिन नसक्ने बताउँदै उनले पशुपतिनाथदेखि काशी विश्वनाथ, सोमनाथ सबैलाई अमरनाथसँग अलग गर्न नसकिने बताए । सिंहले भने, ‘यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’

मन्त्री सिंहले महाकाली नदीको उपस्थिति कोलकाताको कामख्या मन्दिरदेखि भारतीय सेनाको गोर्खा रेजिमेन्टसम्म रहेको उल्लेख गर्दै भने, ‘कोलकाताको कामख्यादेखि विन्ध्याचलसम्म सबैतिर महाकाली रहेकी छिन् । उत्तराखण्डको गाउँगाउँमा महाकालीका भक्त छन् । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी टुट्न सक्छ ? धार्चुलाको अगाडि जति तारबार लगाए पनि यो सम्बन्धलाई तोड्न सकिँदैन ।’

उनले गोर्खा सैनिकको पनि तारिफ गरे । सिंहले भने, ‘भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक–पटक शौऱ्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ, ‘जय महाकाली, आयो गोरखाली ।’

Advertisement

Advertisement

Advertisement