आर्थिक तथा वित्तीय अवस्थाः १४ प्रतिशतले घट्यो ब्यापार घाटा

Advertisement

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटेर रु.९ खर्ब ४३ अर्ब ७ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्याङ्कमा उक्त कुरा उल्लेख छ ।

त्यसैगरी वार्षिक विन्दुगत आधारमा २०७७ बैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.४२ प्रतिशतले र आयातमूल्य सूचकाङ्क ३.७० प्रतिशतले घटेको छ । २०७६ बैशाख महिनामा १.४० प्रतिशतले घटेको व्यापारको शर्त २०७७ बैशाख महिनामा १.३० प्रतिशतले बढेको छ ।

त्यसैगरी समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आई रु.६८० अर्ब ८४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु आयात १३.० प्रतिशतले घटेर रु.१० खर्ब २५ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत र २.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट,सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ बीरगंज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम.एस. पाइप, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु खाता एवम् सोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा रु.१०५ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२२१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७ करोड रहेको थियो । शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि भई २०७७ बैशाख मसान्तमा रु.१२३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।

७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार
२०७७ वैशाखसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ वैशाख मसान्तमा १६३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७७ वैशाख मसान्तमा ९६९५ पुगेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङुक अनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रमुख झलकः

– वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.८३ प्रतिशत छ । दश महिनाको
औसत मुद्रास्फीति ६.४६ प्रतिशत छ ।

– आयात १३.० प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ ।

– विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ ।

– शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा छ ।

– कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.८ महिनाको वस्तु
तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

– संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.७२५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.६०६ अर्ब ८२
करोड छ ।

– विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको
छ ।

– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको
छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement