आर्थिक संकट कहिलेसम्म ? कोरोना रहन्छ जहिलेसम्म

Advertisement

काठमाडौँ । अर्थमत्री डा. युवराज खतिवडा आर्थिक संकटको अवस्था कोरोना रहेसम्म रहने बताएका छन् । राष्टिय सभामा आर्थिक विधेयकमाथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले भने–‘अर्थतन्त्र आगामी दिनमा कहिलेसम्म र कसरी जान्छ भन्ने विषयमा आर्थिक ज्योतिषहरुले अनुमान गरिरहनु भएकै छ । हामीसबै अनुमान मै छौं ।’

‘यो कति लामो रहन सक्छ भन्ने कुरामा हामी कोरोनाको संक्रमण जोखिम र संक्रमण नियन्त्रणमा कति छिटो सफल हुन्छौं ? दोश्रो कुरा बजेटमा प्रस्ताव गरिएका आर्थिक पुनरुत्थानका प्याकेज कसरी कार्यान्वयन सहज हुन्छ भन्नेमा निर्भर गर्छ । भूकम्पपछिको पुननिर्माणमा पनि यस्तै भएको थियो । भूकम्पले आर्थिक संरचना पनि भत्काएको थियो तर हामी रिकभरी भएका थियौं ।’–अर्थमन्त्री खतिवडाले भने ।

उनले अगाडि भने–‘अहिलेको संकट पनि हामी भि सेपको रिकभरीमा जान सक्छौं । अहिले स्वास्थ्य को समस्या हो, आर्थिक संरचना भत्किएका छैनन् । भौतिक संरचना पनि राम्रा छन् । अब परिस्थिति सहज भयो भन्ने वित्तिकै हामी सहज हुन सक्छौं । आर्थिक क्षेत्रमा केहि सहजता छन् । कोरोनाले श्रम बजारमा केहि संयोजन टुटेको छ, त्यसलाई जोड्नुछ ।’

आपूर्ति श्रृंखलालाई पनि राम्रो व्यवस्थापन गर्नुपर्नेछ । त्यसमा निर्माण सामग्रीको आपूर्ति श्रृंखलालाई पनि जोड्ने छौं । अहिले आयातको अवस्था क्रमिक सुधार हुँदैछ । उनले भने–‘झण्डै झण्डै लकडाउन अघिको अवस्था नजिक नजिक पुग्न थालिसकेका छौं । विकास निर्माणका सामग्रीदेखि धेरै चिज आयात भैरहेको छ ।’

आगामी दिनमा व्यवसायिक वातावरण सुध्रदै जान्छ भन्ने प्रमाण पेश भइसकेको छ, ‘अब निजी क्षेत्रको आत्मबल पनि बढाउनुपर्छ’–उनको भनाई छ । उनले अगाडि थपे–‘ब्याज छुट, कर छुट, विद्युत महशुल घटाउने लगायतका निर्णयहरु कार्यान्वयन गराउनु पर्नेछ । अहिले विद्युत महशुल केहि घटाईएको छ । सरल रुपमा कर्जा पाउने व्यवस्था गरिनु पर्नेछ ।’

सरकारले निजी क्षेत्रलाई सँगसँगै लैजाने योजना बनाएकै छ । आर्थिक वृद्धिका लागि तीन चौथाई लगानी निजी क्षेत्रले नै गर्ने हो । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रका लागि पनि हामीले छलफल गरेका छौं । उनले भने–‘खाद्य सुरक्षा, उर्जा, रोजगारी, स्वास्थ्य सुरक्षामा पनि ख्याल गरिरहेका छौं ।’

Advertisement

Advertisement

Advertisement