नेकपाको सचिवालय बैठक आज बस्दै, एमसीसीमा भीम रावल र झलनाथलाई मनाउने तयारी

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार बिहान बस्दैछ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्।

एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए। कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्नेरनगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको छ। यो गठबन्धन प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीको बहुमत सचिवालय सदस्यले निर्माण गरेको भनेर चर्चित छ। उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा पुस २३ गते प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारमा अप्ठ्यारो पार्ने गरी नेकपाका ९ सचिवालय सदस्यमध्ये बहुमत ५ जनाले मोर्चाबन्दी गरेका थिए। सरकार र पार्टी सञ्चालनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीसँग विमति जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका हुन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement