कर्मचारीको गलत बिवरण तयार पारी करोडौँ कुम्ल्याउने हुलाक अधिकृतसहित ८ जना विरुद्ध मुद्दा

Advertisement

काठमाडौँ । आर्थिक अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्ल सहित ८ जना बिरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरु बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अतिरिक्त हुलाक कार्यालयहरुमा कर्मचारी नियुक्ती गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता भएको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । आव २०६९/७० मा २९९ र आव २०७०/७१ मा ४१२ जनाको दरबन्दी कायम गरी पटक पटक वास्तविक दरबन्दी भन्दा १४७ र २६० जना बढीको झुट्ठा ब्यहोराको गलत लिखत तयार पारी तलब भुक्तानी गरेको पाइएको अनुसन्धानबाट पुष्टी भएको छ ।

अनियमितताको पुष्टी भएपछि जिल्ला हुलाक दैलेखका तत्कालीन कार्यालय प्रमुख अमरबहादुर मल्ल, साबिक हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिँह, साबिक जिल्ला हुलाक दैलेखका नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी , साबिक कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखमा कार्यरत शुभाखर न्यौपाने र कोलेनिकाका लेखापाल दीपबहादुर थापालाई जनही १ करोड ८२ लाख ६ हजार ९ सय रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी लेखापाल शालिग्राम पौडेललाई १ करोड ७५ लाख ५८ हजार ६ सय ३० रुपियाँ र नायब सुब्बा रणबहादुर बोहरोलाई ३० लाख ३ हजार २ सय १० रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता कोइरालाले जनाएका छन् ।

यस्तै आयोगले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीमा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहोराले अवैध काठ तस्करी गरेर ट्र्याक्टरमा लोड गरिरहेकासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बोहोराविरुद्ध रु ६१ हजार २० र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले नेपाल राष्ट्रिय आधारभूत मावि पर्सामा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक सन्तोषकुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गुप्ताविरुद्ध रु छ लाख बराबरको बिगो माग दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement