‘अहिले सुन किन्नेले एक वर्षपछि ४० प्रतिशत नाफा गर्न सक्छ’

Advertisement

नेपालमा सुनको मूल्य बढ्नुमा अर्थ राजनीतिक कारण छैन् । यो अन्तराष्ट्रिय मूल्य श्रृंखलाको प्रतिबिम्व मात्रै हो । तर अन्तराष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि हुनुमा चाँही अर्थ राजनीतिक कारण नै प्रमुख छ । विश्वको वित्तिय क्षेत्रमा मुलतः ३ वटा खेमा देखिएका छन् । पहिलो खेमाका रुपमा अमेरिका र उसका सहयोगी राष्ट्रहरु छन् । जो डलरको अधिपत्य कायम गराउन लागिपरेका छन् । दोश्रो खेमामा चीन, रुस र इरान लगायतका मुलुकहरु छन् भने युरोपियन युनियनको आफ्नै धार छ ।

डलरको विकल्पः सुनदेखि डिजिटल युआनसम्म
चीन, रुस र इरान लगायतका मुलुकहरुले अमेरिकी डलरलाई प्राथमिकतामा नराखेर आफ्नै मुद्रालाई बढावा दिईरहेका छन् । युरोपियन युनियन भित्र पनि डलर भन्दा युरोलाई बढी जोड दिनुपर्ने धारणा बढिरहेको छ । अमेरिकाले कोरोना महामारी सुरु भएपछि २६ ट्रिलियन डलरको ऋण उठाएको देखियो । ४ करोड भन्दा बढी अमेरिकी बेरोजगार भएको देखियो । त्यसकारण डलरमा मानिसहरुको विश्वास घट्दै गयो । डलरका बण्डहरुको ब्याजदर पनि धमाधम ओरालो लागिरहेको थियो । डलर बण्डमा यस अघि २.५ प्रतिशत ब्याज पाइन्थ्यो तर अहिले ०.२५ प्रतिशतमा झारिएको छ । सन २०२० भित्रमा डलर बण्डको ब्याजदर शुन्यमा झर्छ र सन २०२१ सम्ममा यो अझै घटेर ऋणात्मक बनाउने योजना फेडेरल रिजर्भ बैंकको छ ।

बिभिन्न देशहरुले ट्रिलियन डलर भन्दा बढी लगानी डलर बण्डमा गरिरहेका हुन्छन् । त्यसमा जर्मनी, फ्रान्स, बेलायत, चीन र नेपालले पनि डलर बण्ड खरिद गरेका छन् । पहिले २.५ प्रतिशत ब्याज आउने बण्डहरुले अहिले ०.२५ प्रतिशत मात्रै ब्याज दिने भनेका छन् भने अझै यसलाई शुन्यमा झार्दैछन् । त्यसकारण अब डलर बण्डहरु बेच्ने योजनामा ति देशहरु छन् । यसले अमेरिकी डलर कमजोर हुँदै जानेछ । विश्व अर्थव्यवस्थामा डलर कमजोर बन्नेछ ।
यहि बेला चीनले डिजिटल युआन मुद्रा निष्काशन गर्न लागेको छ । त्यसलाई डलरको विकल्पमा ‘ग्लोबल करेन्सी’ बनाउने लक्ष्य लिएको छ । केहि समय अघि भारतले इरानसँग तेल किन्यो । त्यसमा पनि डलर नदिएर सुन भुक्तानी गरेको थियो । अब डलरमा आधारित अन्तराष्ट्रिय व्यापारको विकल्पको खोजी सुरु भएको छ ।

व्यापार युद्धको असर
अमेरिका र चीनका बीचमा देखिएको व्यापार युद्धले पनि सुनको भाउ बढाउन भूमिका खेलिरहेको देखिन्छ ।
फेडेरल रिजर्भ बैैंकले ब्याजदर घटाउनु, अमेरिकामा बेरोजगारी बढ्नु, अर्थतन्त्र कमजोर हुनु, डलरको विकल्पका रुपमा अन्य मुद्राहरु अघि सार्नुले पनि अबका दिनमा सुनको महत्व अझै बढ्नेछ । र त्यसको मूल्य पनि अझै बढ्नेछ ।
१९७१ म एक डलरले जति समान किन्न सक्थ्यो अहिले २०२० मा आईपुग्दा ५ सेन्टको मात्रै खरिद क्षमता रहेको देखिन्छ । आवश्यकता भन्दा धेरै डलर छापेकाले पनि डलरको भाउ घटेको हो ।  वर्ड गोल्ड काउन्सिलले सन २०२१ मा सुनको भाउ ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । अर्थात सन २०२१ मा सुनको भाउ ६ सय डलर बढेर २२ सय डलर भन्दा बढी हुने देखिन्छ ।

सुन निक्षेपमा ब्याज
सरकारले सुन धितो राखेर ब्याज पाइने भनेको थियो । त्यसको कार्यान्वयनमा समस्या देखियो । कार्यविधि नै उपयुक्त भएन् । गहना राखेर ब्याज लिन नपाइने व्यवस्थाले मान्छे आकिर्षत भएनन् । अर्काे कुरा ब्याज पनि थोरै भयो । सरकारले २.५ प्रतिशत ब्याज दिने भन्यो । जुन साह्रै थोरै ब्याज हो । बचत खातामा भन्दा कम ब्याज दिएर उपलब्धि देखिएन् ।

यसकारण बढ्यो भन्सार
भारतले सुनको भन्सार १२ प्रतिशत लगाएको छ । नेपालले भने रुपैयाँमा भन्सार लगाईरहेको थियो । प्रति १० ग्राम साढे ६ हजार भन्सार थियो । संसारभर सुनको मूल्य बढेको छ । पुरानै दर कायम राख्दा हाम्रो मूल्य कम हुने देखियो । त्यस्तो अवस्थामा नेपालबाट भारत तर्फ सुन तस्करी हुने सम्भावना देखिएपछि भन्सार बढाउनु परेको हो ।

व्यापार चौपट
लकडाउनले सुनको व्यापार चौपट भएको छ । त्यहिँ माथी भाउ बढेकाले व्यापार सुस्ताएको हो । बिहे गरिहाल्ने मान्छेहरु मात्रै किन्न आउँछन् । बाँकीले सुन रोजिरहेका छैनन् । अहिले नेपालमा वर्षेनी ६० अर्बको सुन कारोबार हुने गरेको छ । अहिले बैंकहरुसँग ३८० किलो जति सुन रहेको देखिन्छ ।

स्वदेशी रोजौं
नेपालमा २३ हजार सुन पसल छन् । कालीगढको संख्या एक लाख ५० हजार जना जति छन् । तिनको आश्रित परिवारमा १५ लाख जति मानिस छन् । महामारीले त रोजगारीमा असर परेकै थियो । अब सुनको मूल्य पनि समस्या ल्यायो । यो संसार भरकै समस्या हो । र हाम्रो काबु भन्दा बाहिरको समस्या पनि हो । सरकारले चाहेरै पनि तत्काल केहि गरिहाल्न सक्ने अवस्था छैन् । अब विदेशी कालीगढका सट्टा नेपाली कालीगढहरु उत्पादन गरेर उपयोग गर्नुपर्छ । उपत्यकामा ६० प्रतिशत कालिगढ विदेशी छन् भने देशभरमा ४० प्रतिशत कालीगढ विदेशी छन् । अब तिनलाई हटाएर नेपाली कालीगढ प्रयोग गर्नुपर्छ । कालिगढ उत्पादन पार्ने प्रयासमा सरकारले सहयोग गर्नुपर्छ ।

४० प्रतिशत नाफा सुनिश्चित गरौं
यो सुनमा लगानी गर्ने उपयुक्त समय हो । विश्व सुन काउन्सिलले नै सन २०२१ म सुनको भाउ ४० प्रतिशतले बढ्छ भनेको छ । डलर बण्डको ब्याजदर घट्नु, डलरको विकल्प खोजि हुनु, बेरोजगारी बढ्नु, अर्थतन्त्रहरु समस्यामा पर्दै जानु जस्ता कारणले पनि अब सुनको भविष्य राम्रो हुँदै आएको छ । अहिले सुन किन्नेले एक वर्षपछि ४० प्रतिशत नाफा गर्न सक्छ ।  बसेल थ्रीले पनि सुनलाई डलरलाई प्राथमिकता दिएको छ । यसलाई डलर भन्दा पनि बढी सुरक्षित लगानी हो भनेको छ ।

संसारभरका केन्द्रिय बैंकहरुले ६५० टन सुन खरिद गरेका छन् । यसको अर्थ उनीहरुले सुन किनेर नोट निष्काशन गरेर अर्थतन्त्र बलिया बनाउने प्रयास गरिरहेका छन् । वर्ड गोल्ड काउन्सिलले सुनको मूल्य ४० प्रतिशत भन्दा बढीले वृद्धि हुन्छ भनेको हो । (नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शाक्यसँग गरिएको कुराकानीमा आधारित)

Advertisement

Advertisement

Advertisement