शिक्षा मन्त्रालयले फेरि भन्यो- निजी विद्यालयले शुल्क मागे पनि नदेउ है

Advertisement

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढाई नभएको बेलाको शुल्क नमाग्न निजी विद्यालय सञ्चालकहरुलाई पुनः निर्देशन दिएको छ । निजी विद्यालय सञ्चालकहरुको संगठनले शुल्क नठाउन नपाउँदा शिक्षक तथा कर्मचारीलाई तलव दिन नपाएको र विद्यालयको भाडा तिर्न नसकेको भन्दै अभिभावकहरुलाई शुल्क बुझाउन आउन आव्हान गरेपछि शिक्षा मन्त्रालयको यस्तो निर्देशन आएको हो ।

मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएको छ । प्याब्शन र एनप्याब्शनले लकडाउन अवधिको शुल्कका साथै अनलाइन कक्षा सञ्चालनवापत थप शुल्क र भर्ना शुल्कसमेत बुझाउन आउन अभिभावकहरुलाई आग्रह गरेका थिए । सरकारको निर्देशनविपरित निजी विद्यालयले शुल्क तिर्न आउन सर्कुलर जारी गरेपछि अभिभावकदेखि विद्यार्थी संगठनहरुसम्मले विरोध जनाएका थिए ।

शिक्षा मन्त्रालयले विज्ञप्तिमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न आग्रह गर्दै प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख गरेको छ । कोरोना महामारी त्रास बढेसँगै चैतदेखि शिक्षण संस्था बन्द छन् ।

यता निजी विद्यालय सञ्चालकहरु भने लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको तर्क गर्छन् । विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने भन्दै मन्त्रालयले असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement