लकडाउन खुकुलो भएसँगै यसरी लयमा फर्किदैछ पोल्ट्री व्यवसाय

Advertisement

चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो । लकडाउन शुरुभएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरु बताउँछन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छ । ब्रोइलर चल्ला रु ६०, लेयर्स रु ९० र कोइलर रु ७० मा बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७।४५, लेयर्सको रु ९० र कोइलरको रु ४५ पर्न आउँछ । हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी दिनुभयो । उत्पादित चल्ला सबै बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको उत्पादन सातामा पाँच लाख हाराहारी घटेको उनले जानकारी दिए ।

लकडाउनको समयमा कुखुरा पाल्ने घटेसँगै मासुको अभाव हुन थालेको छ । फार्मबाट प्रतिकिलो जिउँदो कुखुरा रु २७० देखि रु २८० सम्ममा बिक्री हुन थालेको छ । जिउँदो खुकुराको लागत मूल्य रु १८० हो । चितवनको बजारमा तयारी मासु प्रतिकिलो रु ४०० सम्ममा बिक्री हुने गरेको छ ।

दुई साता अघिबाट चल्ला बिक्री हुन थालेको हो । लकडाउन शुरु भएपछि व्यवसायीले बिक्री नभएसम्म चल्ला नष्ट गर्दै आएका थिए । यससँगै अण्डाको मूल्य पनि बढ्न थालेको छ । माग बढेसँगै मूल्य बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार हाल ठूलो अण्डाको बिक्री मूल्य फार्ममा रु ३०५ र मध्यम अण्डाको रु २९१ मा रहेको छ । बजारमा अण्डाको अभाव भएका कारण बिक्री मूल्य बढ्दै गएको छ ।

पोल्ट्री व्यवसायी मदन पोखरेलले अण्डा पाउन मुस्किल भएपछि व्यापारीले ठूलो अण्डा रु ३२५ सम्ममा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । हाल अण्डाको उत्पादन कम रहेको छ । लकडाउन अघिकोभन्दा दैनिक १० लाख गोटा कम अण्डा उत्पादन भएको अध्यक्ष केसीले बताउनुभयो । अहिले दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन भइरहेको छ ।

लकडाउनमा दाना खुवाउन नसक्ने भएपछि कुखुरा बिक्री भएको, कुखुराले राम्रो दाना खान नपाएका जस्ता कारण अण्डा उत्पादन घटेको हो । केसीका अनुसार लकडाउन कडा हुँदा रु २०० सम्म अण्डाको मूल्य तोकिएको थियो । त्यतिबेला बिक्री नभएपछि कृषकले रु १५० सम्ममा बिक्री गरेका थिए । अण्डाको लागत मूल्य प्रतिगोटा रु ११.५३ पर्दछ । लकडाउन शुरु भएपछि एक महिनासम्म अण्डा बिक्रीमा समस्या भएको भए पनि त्यसपछि क्रमशः बढ्दै गएको हो । नेपालमा दुई हजार ७०० भन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्ने गरेको तथ्याङ्क छ ।

भारतबाट दानाका लागि ल्याउने मकैको मूल्य लकडाउनको समयमा क्रमशः घट्दै गएकाले व्यवसायीलाई केही राहत मिलेको छ । जिल्लाका अग्रणी दाना उत्पादक शङ्कर कँडेल भारतबाट आउने मकैको मूल्यमा गिरावट भएसँगै दानाको मूल्य घट्दा कृषकलाई राहत मिलेको बताउँछन् । माघ महिनासम्म प्रतिकेजी रु ४३ मा खरिद गरिएको मकै अहिले रु २३ देखि रु २५ सम्ममा खरिद हुने गरेको छ । दानामा मकै ५० देखि ५५ प्रतिशत राख्ने गरिन्छ । यसरी दानाको लागत मूल्य घटेसँगै कृषकले सस्तो मूल्यमा दाना पाउन थालेका छन् ।

प्रतिकेजी दानामा रु नौसम्म गिरावट आएको छ । लकडाउनकै समयमा प्रतिकेजी रु पाँच घटेको थियो । यता सरकारले बजेटमा आयात हुने भटमासमा नौ प्रतिशत भन्सार लगाएसँगै भटमासको मूल्य भने बढेको छ । कँडेलका अनुसार रु ६० मा आउने भटमास रु ६३ पुगेसँगै दानाको मूल्य पुनः बढ्नसक्ने देखिएको छ । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमिका खेलेको व्यवसायीको भनाइ छ । रासस

Advertisement

Advertisement

Advertisement