प्रधानमन्त्री भन्छन्- 'बेसार खाउ', तर छैन पर्याप्त उत्पादन, भारतबाटै ल्याउनुपर्ने बाध्यता

Advertisement

काठमाडौं । नेपालीले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपियाँ भने ठूलै छ।

बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड ९५ लाख ११ हजार रुपियाँको बेसार ल्याइएको छ। त्यसको परिमाण भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो (२ हजार १ सय ७९ टन) हो। योे अवधिमा नेपालबाट ११ सय २९ किलो मात्र निर्यात भएको छ। त्यो भनेको ३० हजार रुपियाँबराबरको हो। यो वर्ष नेपालमा ९ हजार ७ सय ९५ हेक्टरबाट ९९ हजार ९ सय ७ टन बेसार उत्पादन भएको छ।

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा बेसार महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले गत बिहीबार राष्ट्रियसभा बैठकमा बेसारपानी पिउँदा कोरोना ठीक हुने बताएका थिए। बेसार कसरी र किन खाने ? यसको सेवन गर्दा के फाइदा हुन्छ ? यस्ता विषयमा ओलीले लामो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement