साउनदेखि ५ अर्बको स्टक डिलर, ५० अर्बको पोर्टफोलियो बनाउने योजना

Advertisement

काठमाडौं । साउन महिनादेखि सेयर बजारमा पाँच अर्ब चुक्ता पुँजीको स्टक डिलर कम्पनीले प्रवेश पाउँदैछ । नागरिक लगानी कोषको अगुवाईमा स्थापना भएको डिलरको नाम नै ‘नागरिक स्टक डिलर कम्पनी राखिएको छ ।

कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ । सर्वसाधारणले आइपीओ मार्फत ३० प्रतिशत सेयरमा लगानीको अवसर पाउनेछन् ।

‘नेप्सेमा आवेदन दिईसकेका छौं, नेप्सेका सिफारिस पाएपछि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिन्छौं’, नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक इन्द्रकुमार कट्टेलले भने । साउनबाट कारोबार थाल्ने कम्पनीले ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।

‘साउनबाट सेवा आरम्भ गर्ने तयारी गरिरहेका छौं, केहि समयभित्रै ५० अर्बको पोर्टफोलियो सहित सेयर बजारको महत्वपूर्ण प्लेयर बन्ने लक्ष्य छ ।’, कट्टेलले भने । उनले थप रकम जुटाउनका लागि विभिन्न स्किमहरुको तयारीमा पनि जुटिसकेको बताए ।

‘बास्केट फण्डबाट ५ अर्ब उठाउने योजनामा छौं, चुक्ता पुँजी पनि केहि समयपछि १० अर्ब पुर्याउँछौं ।’, कट्टेलले भने । कम्पनीले घर भाडा टुंगो लगाउने चरणमा पुर्याईसकेको छ भने तत्कालका लागि करार कर्मचारी लिने योजना बनाएको छ । केहि समय भित्रै स्थायी नियुक्तको प्रक्रिया थाल्नेछ ।

नेपालकै पहिलो स्टक डिलर कम्पनीका रुपमा आउने यो कम्पनीले सेयर बजारको अनावश्यक उतार चढावलाई रोक्न भूमिका निर्वाह गर्नेछ । ‘बजार धेरै बढ्यो भने सेयर बेच्ने र धेरै घट्यो भने सेयर किनेर उतार चढाव रोक्न भूमिका निर्वाह गर्नेछ’, प्रबन्ध सञ्चालक कट्टेलले सुनाए ।

Advertisement

Advertisement

Advertisement