बीस प्रतिशत रोपाईं सकियो, मनसुन समयमै सक्रिय, रोपाईं राम्रो हुने सरकारको आशा

Advertisement

काठमाडौँ । जेठ तेस्रो सातादेखि सुरु भएको धान रोपाइँ हालसम्म २ लाख ७५ हजार २९ हेक्टरमा भएको छ । बर्खे सिजनमा करिब १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये यस वर्ष असार १० सम्म २०.०५ प्रतिशत रोपाइँ भएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४१ प्रतिशत बढी हो । मन्त्रालयका अनुसार ०७६ असार १० सम्म ११.६४ प्रतिशत रोपाइँ भएको थियो ।

‘किसानले समयमै बीउ राखे । मनसुन सक्रिय भएको छ । अहिले गाउँघरमा जनशक्ति पनि छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘मनसुन यही हिसाबले भयो भने रोपाइँ राम्रो हुन्छ ।’ यस वर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ । उच्च पहाड, मध्यपहाड हुँदै तराईसम्म धान रोपाइँ हुन्छ । तराईमा साउन अन्तिमसम्म रोपाइँ चल्छ ।

असार १० सम्म रोपाइँ २६.०७ प्रतिशत भएको मन्त्रालयको तथ्यांक छ । अघिल्लो वर्ष सोही अवधिमा २४.९४ प्रतिशत थियो । मध्यपहाडमा रोपाइँ २०.०७ प्रतिशत भएको छ । ०७६ असार १० सम्म १६.९१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । तराईमा भने १९.७५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९.११ प्रतिशत मात्रै रोपाइँ भएको थियो । अहिलेसम्म औसत रोपाइँ ११.६४ बाट बढेर २०.०५ प्रतिशत पुगेको छ,’ मन्त्रालयका प्रवक्ता केसीले भने ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement