नेपाली युवाहरुमा 'नशा' बन्दै बन्दै गएको 'पब्जी' खेलको नाममा करोडौं बाहिरिँदै

Advertisement

काठमाडौं । पब्जी, फिफाजस्ता ई–गेम खेल्न नेपालीले वर्षमा करिब १२ करोड रुपियाँ विदेश पठाउने गरेको खुलेको छ । युवापुस्तामा लोकप्रिय फिफा, डोटा, काउन्टर स्ट्राइक, पब्जीलगायतका खेलहरू खेल्न युवाले करोडौँ रुपियाँ अनधिकृत रूपमा विदेश पठाउने गरेका हुन् ।

ई–गेम खेल्ने क्रममा खेलसँग सम्बन्धित कतिपय डिजिटल सामग्री अनलाइन खरिद गर्दा यो रकम जाने गरेको छ । नेपालमा एक लाखभन्दा बढी युवाले ई–गेम खेल्ने भए पनि १० हजारभन्दा बढीले भने रकम नै खर्च गर्ने गरेको नेपाल ई–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलले बताए ।

काठमाडौंसहित मुलुकका प्रमुख सहर हेटौँडा, पोखरा, धरानलगायतका स्थानबाट ठूलो संख्यामा युवाहरूले ई–गेमिङमा सहभागिता जनाउने गरेको उनको भनाइ छ । ‘विश्वमा यो क्षेत्रमा खर्बौँ रकमको लगानी भइसकेको छ,’ डंगोलले भने, ‘नेपालमा समेत वर्षमा एक लाखभन्दा बढी खर्च गरेर खेल खेल्ने पनि छन्, तर रकम खर्च गर्ने १० हजार खेलाडीले औसतमा एक सय डलर अर्थात् १२ हजार रुपियाँ खर्च गर्ने अनुमान छ ।’ अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धामै भाग लिने खेलाडीको संख्या भने एक हजार हाराहारी रहेको उनको भनाइ छ ।

ई–गेमका नाममा विदेशी मुद्रा अपचलन भइरहेको भन्दै राष्ट्र बैंकमा नियमनको दायरामा ल्याउनुपर्ने आवाज पनि उठिरहेको छ । तर, खुला गर्ने कि पूर्ण बन्द गर्ने भन्ने विषयमा भने राष्ट्र बैंक टुंगोमा पुगिसकेको छैन । ‘ई–गेमिङबाट भइरहेको कारोबारबारे राष्ट्र बैंकको विदेशी विनिमय विभागमा कुरा भइरहेको छ, यसैलाई व्यवस्थित गर्नुपर्छ र केही संस्थालाई मात्रै भए पनि सञ्चालन अनुमति दिनुपर्छ भन्ने छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने, ‘आउने मौद्रिक नीतिमा केही न केही सम्बोधन हुन्छ होला ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement